काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको अर्धवार्षिक आर्थिक प्रतिवेदनअनुसार कर्णाली प्रदेशको आर्थिक गतिविधिमा विस्तारको संकेत देखिएको छ । चालु आर्थिक वर्ष २०८१/८२ मा कर्णालीको आर्थिक वृद्धिदर ४.७ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ । सेवा र पूर्वाधार क्षेत्रमा भएको विस्तारले समग्र आर्थिक वृद्धिमा सकारात्मक प्रभाव पारेको केन्द्रिय बैंकले जानकारी दिएको छ । तथापि कृषि र उद्योग क्षेत्रमा केही चुनौतीहरु कायमै रहेका छन् ।
राष्ट्र बैंकको तथ्यांक अनुसार कर्णाली प्रदेशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा सेवा क्षेत्रको योगदान सर्वाधिक ५८.९ प्रतिशत रहेको छ भने कृषि क्षेत्रको योगदान ३१.५ प्रतिशत र उद्योग क्षेत्रको योगदान ९.६ प्रतिशत रहेको छ । कुल गार्हस्थ्य उत्पादनमा सेवा क्षेत्रको बढ्दो हिस्सा प्रदेशको आर्थिक संरचना सेवा–मुखी बन्दै गएको संकेत हो ।
कृषि क्षेत्रको विश्लेषण गर्दा, समग्र कृषि बालीले ढाकेको भू–क्षेत्र अघिल्लो वर्षको तुलनामा ०.११ प्रतिशतले घटेको देखिन्छ । प्रमुख खाद्य बालीमध्ये धान, मकै, गहुँ, कोदो र जौले ढाकेको क्षेत्रफलमा क्रमशः ५.११, ४.१६, ४.८६, ११.५२ र १.३९ प्रतिशतले ह्रास आएको छ । तर, तरकारी तथा फलफुल बालीले ढाकेको क्षेत्रफलमा उल्लेख्य वृद्धि देखिएको छ । तरकारी खेतीमा ३३.८८ प्रतिशत र फलफुलमा ८.१७ प्रतिशत वृद्धि भएको हो ।
उत्पादनको दृष्टिले हेर्दा समग्र कृषि उत्पादनमा ३.०६ प्रतिशतको वृद्धि देखिए पनि खाद्य, नगदे तथा अन्य बालीको उत्पादन भने ४.८३ प्रतिशतले घटेको छ । खाद्य बालीमध्ये धान, गहुँ, कोदो र जौको उत्पादन क्रमशः १०.२५, १७.३१, २२.९२ र ८.५५ प्रतिशतले घटेको छ भने मकैको उत्पादनमा ४.२४ प्रतिशतको वृद्धि भएको छ । यस्तै, तरकारी उत्पादनमा २२.७४ प्रतिशत र फलफुल उत्पादनमा ४४.७३ प्रतिशतले वृद्धि भएको छ । कृषि क्षेत्रमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कर्जा १४.०१ प्रतिशतले बढेको छ र कुल कर्जाको ८.७१ प्रतिशत हिस्सा कृषि क्षेत्रमा केन्द्रित भएको छ ।
उद्योग क्षेत्रको समीक्षा गर्दा, नमुना छनोटमा समेटिएका उद्योगहरुको औसत क्षमता उपयोग ३७.९३ प्रतिशत मात्र देखिएको छ । कागज तथा कागजका उत्पादनसम्बन्धी उद्योगले ९७ प्रतिशत क्षमतासहित सञ्चालन भएका छन् भने दुग्ध पदार्थ उत्पादन गर्ने उद्योगको क्षमता उपयोग न्यूनतम २६ प्रतिशतमा सीमित देखिएको छ । औद्योगिक कर्जा अघिल्लो वर्षको तुलनामा १४।९५ प्रतिशतले वृद्धि भएको छ र यो कर्जाले कुल प्रवाहको ६.४१ प्रतिशत हिस्सा ओगटेको छ ।
सेवा क्षेत्रमा उल्लेखनीय वृद्धि देखिएको छ । प्रदेशमा पर्यटक आगमनमा ११.०९ प्रतिशतले वृद्धि भएको छ । भारत, चीन र अन्य तेस्रो मुलुकबाट भित्रिने पर्यटक क्रमशः १२.८२, ३.६९ र १३.३४ प्रतिशतले बढेका छन् । सेवा क्षेत्रमा प्रवाहित कर्जा कूल कर्जाको ८४.८९ प्रतिशत हिस्सा रहेको छ, जुन यस क्षेत्रको प्राथमिकता झल्काउने तथ्य हो । प्रदेशभर वाणिज्य बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या ४ सय ७७ पुगेको छ भने शाखारहित बैंकिङ सेवा २६ स्थानमा विस्तार भएको छ । हाल प्रदेशमा कर्जा तथा निक्षेप अनुपात ८१.६७ प्रतिशत रहेको छ ।
पूर्वाधारको क्षेत्रमा पनि उल्लेखनीय प्रगति देखिएको छ । आर्थिक वर्ष २०८०र८१ सम्ममा कर्णाली प्रदेशमा विद्युत् प्रसारण लाइन २४१६.४७ किलोमिटर पुगेको छ भने १७.४१ मेगावाट विद्युत् उत्पादन भएको छ । यस्तै, पुष्पलाल लोकमार्ग, कर्णाली कोरिडोर, मदन भण्डारी राजमार्ग तथा भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माण कार्यमा गति आएको देखिएको छ । यस्ता आयोजना प्रदेशको भौतिक तथा आर्थिक संरचना सुदृढ गर्ने महत्वपूर्ण आधार बन्ने अपेक्षा गरिएको छ ।
कुल मिलाएर हेर्दा, कर्णाली प्रदेशको आर्थिक गतिमा क्रमिक सुधारको संकेत देखिएको छ । यद्यपि, कृषि र उद्योग क्षेत्रका केही चुनौतीहरु समाधान गर्नुपर्ने आवश्यकता कायमै छ । सेवा तथा पूर्वाधारको विकाससँगै रोजगारी सृजना, उत्पादन वृद्धि तथा आय–स्तर उकास्ने सम्भावनाले प्रदेशको आर्थिक रूपान्तरणलाई अझ गतिशील बनाउन सक्ने देखिन्छ ।