काठमाडौं । दशैँको टीकाको दोस्रो दिन आजपनि टीका लगाउनेको चहलपहल बढेको छ। विजय दशमीका दिन नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएपछि आज पनि आफन्तकोमा टीका लगाउन जाने गरिन्छ ।
दशैँघर वा पूजा कोठामा नौ दिनसम्म पूजाआराधना गरिएको प्रसाद लगाएपछि दशैँको पूर्णिमासम्म आफन्तकामा टीका थाप्न जाने चलन रहेको छ । मान्यजन टाढा टाढा हुने आफन्त आजदेखि आश्विन शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न आफन्तकोमा जाने गर्दछन् । कतिपय स्थानमा विजयादशमीको दिनमात्र टीका लगाउने चलन भए पनि कतिपय ठाउँमा कोजाग्रत पूर्णिमासम्मै टीका लगाउने गरिन्छ ।
आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापेर मनाइएको हो। बिहीबार टीका लगाउन नभ्याउनेले कोजाग्रत पूर्णिमाका अवसरमा अखिल बलि पूर्ति नभएसम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन्।