काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेप्टाबाट वेपत्ता भनिएका एकै परिवारका १५ जना सदस्य पोखरामा भेटिएका छन् । उनीहरु शुक्रबारदेखि सम्पर्कविहीन बनेका थिए । उनीहरू गत शनिबार नै पोखराको होटल जननीमा पुगेर बास बसेको खुलासा भएको हो । हायू परिवारका १५ जना पोखराको दुई ठाउँमा बसेको खुलेको हो । १२ जना लेकसाइडको हल्लनचोकमा रहेको होटेल जननीमा बसेका थिए । कास्की प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतका अनुसार, उनीहरू शनिबार होटेलमा तीन वटा कोठा लिएर बसेका थिए ।
होटेलमा बस्नेले आइतबार बिहान चेकआउट गरेका थिए । उक्त होटलका सञ्चालक सुनिल भूर्तेलका अनुसार शनिबार आएर उनीहरू आइतबार नै होटलबाट चेक आउट भएर निस्किएका थिए । यसपछि एकै परिवारका १५ जना उनीहरु पोखराको गगनगौंडा भन्ने ठाउँमा सोमबार साँझ भेटिएका हुन् । प्रहरीका अनुसार उनीहरू गगनगौंडास्थित सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा आश्रय लिइरहेको अवस्थामा भेटिएका हुन् । उनीहरूलाई पोखराको माथिल्लो गगनगौँडा क्षेत्रबाट प्रहरीले भेट्टाएको हो । कास्कीका एसपी श्यामबाबु ओलियाका अनुसार १५ जनाले आफूहरू मजदुरीको काम गर्न पोखरा आएको बताएका छन् । उनीहरू गगनगौँडाका स्थानीय सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा बसिरहेको अवस्थामा फेला पारिएको ओलियाले जानकारी दिए ।
‘हामी लेबर काम गर्ने हो, यतातिर काम गर्छौँ भनेर काम खोज्न आएको भन्दै छिरेका रहेछन्,’ उनले भने, ‘सबै जनालाई अहिले इलाका प्रहरी कार्यालयमा ल्याउने काम भइरहेको छ । उनीहरू पोखरामा बस्न आएको प्रहरीको सोधपुछका क्रममा खुलेको छ । उनीहरूले सिन्धुलीबाट गाडी रिजर्भ गरेर पोखरा आएको पनि खुलेको छ । पोखरा आएपछि एक दिन होटलमा बसेका उनीहरू आइतबार (एक दिनअघि) मात्र होटलबाट चेकआउट गरी स्थानीयको घरमा बस्न गएका थिए ।’ उनीहरू १४–१५ दिन बस्ने योजनाले आएका भन्ने बुझिएको ओलियाले जानकारी दिए । होटलबाट निस्किएको भोलिपल्टै उनीहरूलाई प्रहरीले फेला पारेको हो । उनीहरुले सिन्धुलीबाट गाडी भाडामा लिएर पोखरा पुगेको बताएको प्रहरीले जनाएको छ ।
बेपत्ता परिवारको घर लथालिङ्ग अवस्थामा भेटिएपछि घटनाले रहस्यमय मोड लिएको थियो । हराएका भनिएकामध्ये अधिकांश महिला तथा बालबालिका रहेका छन् । उक्त परिवारका सदस्यहरूमध्ये पहिला १६ जनाको नाम सार्वजनिक गरिएको भए पनि काठमाडौंमा बसोबास गर्दै आएकी माइली छोरी सुजाता हायूको नाम गल्तीले बेपत्ताको सूचीमा परेको खुलेको थियो । उनी सोमबार दिउासै काठमाडौंस्थित प्रहरी सम्पर्कमा आइसकेकी थिइन । उनी केही महिनादेखि काठमाडौंमै बस्दै आएकी थिइन् र परिवारसँग सम्पर्कविहीन भएको थाहा पाएपछि खोजीमा सहयोग गरिरहेकी थिइन् ।
सिन्धुलीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) दिनेश सागर भुसालका अनुसार शुक्रबार साँझ ५ बजेर १९ मिनेटमा परिवारका एक सदस्यले ग्वालटार बजारबाट अटो चालकसँग कुरा गरेको देखिएको थियो । चालकले उनीहरूलाई घर नजिकै झारेको बयान दिएका थिए । त्यसपछि उनीहरूको अवस्थाबारे कुनै जानकारी पाइएकोे थिएन । सोधपुछका क्रममा स्थानीयले बताए अनुसार, ८ साउन बिहीबार उनीहरूले राज्यबाट प्राप्त हुने भत्ता बुझेका थिए । वडा अध्यक्ष रविन श्रेष्ठका अनुसार, परिवारले प्रतिमहिना ३ हजार ९ सय ९० रुपैयाँका दरले जम्मा १ लाख ९१ हजार ५ सय २० रुपैयाँ भत्ता बुझेका थिए । भत्ता बुझेको साँझ उनीहरूले घरमै सुँगुर काटेर मासु खाएको बुझिएको छ । त्यसपछि सम्पर्कविहीन भएका थिए ।
प्रहरी अनुसन्धान अनुसार, परिवारका सदस्यहरूले प्रयोग गरेका मोबाइल सेटहरू अन्तिमपटक रामेछाप नगरपालिका–९ सिमन्दीछाप भन्ने स्थानमा सक्रिय रहेको देखिएको थियो । यद्यपि त्यहाँको मोबाइल टावरले गोलन्जोर क्षेत्र समेत समेट्ने भएकाले लोकेसन ठ्याक्कै त्यही हो भन्ने निश्चित हुन सकेको थिएन । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार, उनीहरुको खोजी कार्य तीव्र बनाइएको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय निकायका प्रतिनिधिहरू घटनास्थल आसपास परिचालन गरिएका थिए । खोजी रामेछाप, सिन्धुली र आवश्यक परे काठमाडौंसम्म पनि फैलाउने तयारीमा प्रहरीले सक्रियता देखाएको थियो ।
बेपत्ता भएकाहरूको घरमा आइतबार प्रहरीसहितको टोली पुगेको थियो । वडाध्यक्ष श्रेष्ठले घर लथालिङ्ग अवस्थामा भेटिएको बताए । घरको ढोका खुला थियो, कुखुरा, बाख्राहरू खुल्लै छाडिएको, लुगाफाटो र भाँडाकुँडा छरपस्ट अवस्थामा थिए । भान्साकोठामा केही भागमा आगो लागेर निभेको देखिएको थियो । यस्ता दृश्यले परिवार आफैं जानु वा जबर्जस्ती लगिएको भन्ने दुबै आशंकालाई जन्म दिएको थियो । उक्त परिवारका घरमूली सने हायू तीन वर्षअघि यसैगरी बेपत्ता भएका थिए । पछि नजिकैको जंगलमा उनको हाडखोर फेला परेको थियो । सो घटनाको कारण खुल्न नसकेपनि पुनः यति ठूलो संख्यामा परिवार बेपत्ता हुँदा गाउँमा त्रासको वातावरण बनेको थियो । हायू संघका अध्यक्ष लक्ष्मण हायूका अनुसार, हराएका परिवारका जेठा छोरा राजु हायू केही दिनअघि मात्रै विदेशबाट घर फर्किएका थिए । गाउँलेले उनीहरु घरमा नभएको थापा पाएपछि प्रहरीलाई खबर गरेका थिए ।