काठमाडौं । सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले संविधानअनुसार अघि बढ्नुपर्ने बताएका छन् । शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै संवैधानिक प्रक्रियाबाट निकास दिन राष्ट्रपति रामचन्द्र पौडेलले पहल गरिरहेको उनीहरुले उल्लेख गरेका हुन् ।
देशमा विद्यमान विषम परिस्थितिमा जनतामा निहित सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाधीनतालाई शिरोपर गर्दै संवैधानिक प्रक्रियाबाटै निकास दिन राष्ट्रपतिले पहल गरिरहेको भन्दै विधिको शासन र संविधानवादबाट बाहिर जाननहुने उनीहरुले बताएका छन् । २३ र २४ भदौमा जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति संघीय संसदले गहिरो दुःख व्यक्त गरेको छ ।
