Logo

अमेरिका युनेस्कोबाट बाहिरियो, सन् २०१७ मा पनि राष्ट्रपति ट्रम्पले चालेका थिए यही कदम

अमेरिका युनेस्कोबाट बाहिरियो, सन् २०१७ मा पनि राष्ट्रपति ट्रम्पले चालेका थिए यही कदम



काठमाडौं । अमेरिकाले संयुक्त राष्ट्रसङ्घ अन्तर्गतको शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संस्था युनेस्कोबाट आफ्नो सदस्यता समाप्त गर्ने निर्णय सार्वजनिक गरेको छ । अमेरिकी पक्षले युनेस्कोले इजरायलप्रति पूर्वाग्रही धारणा अपनाएको र विवाद उत्पन्न गर्न सक्ने सामाजिक तथा सांस्कृतिक विषयहरूमा जोड दिएको उल्लेख गरेको छ ।

अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ता, टैमी ब्रुसले विज्ञप्ति जारी गर्दै युनेस्कोको हालको कार्यप्रवृत्ति अमेरिका अनुकूल नरहेको र संस्था राष्ट्रिय हितसँग मेल नखाने दिशामा अघि बढेको बताए ।

उनले युनेस्कोले पछिल्लो समय संयुक्त राष्ट्रसंघका दिगो विकास लक्ष्यहरूप्रति बढी केन्द्रित भई विश्वव्यापी विचारधारात्मक विषयहरू अघि सारेको टिप्पणी गरे । साथै, युनेस्कोले प्यालेस्टाइनलाई सदस्य राष्ट्रको रूपमा स्वीकार गरेको निर्णयप्रति गम्भीर असन्तोष व्यक्त गर्दै उक्त कदमले इजरायलविरोधी धारणा फैलाउने जोखिम बढाएको बताए ।

युनेस्कोले आफूलाई शिक्षा, विज्ञान र संस्कृतिको माध्यमबाट अन्तर्राष्ट्रिय सहयोग र समझदारी प्रवद्र्धन गर्ने संस्था भएको जनाएको छ । यो संस्थाले विश्व सम्पदा सूचीको व्यवस्थापन गर्दै आएको छ, जसअन्तर्गत ग्रेट बेरियर रीफ (अष्ट्रेलिया), सेरेन्गेटी (तान्जानिया), एथेन्स एक्रोपोलिस (युनान) र मिस्रका पिरामिडहरूजस्ता स्थलहरू समावेश छन् ।

अमेरिकाको युनेस्कोबाट बाहिरिने निर्णय पहिलोपटक भने होइन । सन् १९८० को दशकमा तत्कालीन राष्ट्रपति रोनाल्ड रेगनले संस्था भ्रष्ट र सोभियत समर्थक भएको आरोप लगाउँदै अमेरिका सदस्यता छाडेका थिए । पछि, राष्ट्रपति जर्ज डब्लु. बुसको कार्यकालमा अमेरिका पुनः युनेस्कोमा फर्किएको थियो ।

हालैका वर्षहरूमा पनि युनेस्कोप्रति अमेरिका आलोचनात्मक रहँदै आएको थियो । सन् २०१७ मा राष्ट्रपति डोनाल्ड ट्रम्पले सदस्यता छाड्ने निर्णय गरेका थिए, जुन निर्णय राष्ट्रपति जो बाइडेनले उल्ट्याउँदै अमेरिकालाई पुनः सदस्य बनाएका थिए । अब, ट्रम्पको नेतृत्वमा अमेरिका पुनः युनेस्कोबाट बाहिरिएको हो ।

प्रतिक्रिया दिनुहोस्