Logo

एआई प्रविधिमा अगाडि बढ्दै ‘एनथ्रपिक’, १३ अर्ब डलर लगानी सङ्कलन

एआई प्रविधिमा अगाडि बढ्दै ‘एनथ्रपिक’, १३ अर्ब डलर लगानी सङ्कलन



काठमाडौं । अमेरिकी कृत्रिम बुद्धिमत्ता (एआई) स्टार्टअप एनथ्रपिकले १३ अर्ब अमेरिकी डलरको लगानी जुटाएको छ । यो लगानी आईकोनिक नामक लगानी संस्थाको नेतृत्वमा सिरिज एफ चरणमा गरिएको हो । कम्पनीको पछिल्लो मूल्यांकन १८३ अर्ब डलर पुगेको छ ।

‘एनथ्रपिक’ एक अमेरिकी कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधि कम्पनी हो, जसले सुरक्षित, पारदर्शी र उत्तरदायी एआई प्रणालीहरू विकास गर्ने लक्ष्य राखेको छ ।

सन् २०२१ मा पूर्व ओपनएआई अनुसन्धानकर्ताहरूले स्थापना गरेको यो कम्पनी विशेषगरी ‘क्लोड’ नामक उन्नत भाषा मोडेलहरू निर्माण गरेर चर्चित भएको हो । एनथ्रपिकको मुख्य उद्देश्य मानवीय मूल्यसँग मेल खाने र दीर्घकालीन रूपमा सुरक्षित रहने एआई प्रविधि तयार गर्नु हो । यस कम्पनीले व्यवसायिक प्रयोगका लागि भरपर्दो एआई समाधानहरू प्रदान गर्दैछ, जसमा भाषा प्रशोधन, ज्ञान सहायता र निर्णय समर्थन प्रणालीहरू पर्छन् ।

यस लगानी चरणमा फिडेलिटी म्यानेजमेन्ट एन्ड रिसर्च कम्पनी र लाइटस्पिड भेन्चर पार्टनर्सले पनि सह–नेतृत्व गरेका छन् । कम्पनीका अनुसार, यो लगानीले व्यवसायिक माग पुरा गर्न क्षमता विस्तार, सुरक्षा अनुसन्धानमा गहिराइ ल्याउन तथा अन्तर्राष्ट्रिय विस्तारमा सहयोग पु¥याउनेछ ।

“हाम्रो सम्पूर्ण ग्राहक समूहमा माग तीव्र रूपमा बढिरहेको छ,” एनथ्रपिकका आर्थिक प्रमुख (सीएफओ) कृष्ण रावले बताए । यसअघि मार्च महिनामा, कम्पनीले सिरिज ई चरणमा ३.५ अर्ब डलर जुटाउँदै ६१.५ अर्ब डलरको मूल्यांकन प्राप्त गरेको थियो । कम्पनीका अनुसार, २०२३ को मार्चमा क्लोड नामक एआई मोडेल सार्वजनिक गरेपछि एनथ्रपिकको विकास दर निकै तीव्र भएको हो ।

प्रतिक्रिया दिनुहोस्