काठमाडौं । नेपालले गत आर्थिक बर्ष २०८१/८२ भर गरेको निर्यात व्यापारभन्दा झण्डै ५० अर्ब बढी रुपैयाँ बराबरको पेट्रोलियम आयात गरेको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकलाई आधार मान्दा नेपालले गत आवमा कुल २ खर्ब ७७ अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ । तर, त्यहि अवधिमा नेपालले विभिन्न देशबाट खासगरी भारतबाट ३ खर्ब २५ अर्ब रुपैयाँ बढीको पेट्रोलियम उपजहरु आयात गरेको देखिन्छ । यो नेपालको कुल निर्यातको तुलनामा ४९ अर्ब ११ करोड रुपैयाँ बढी हो ।
यस अवधिमा नेपालले १ खर्ब २८ अर्ब रुपैयाँ बराबरको डिजेलमात्रै आयात गरेको छ । नेपालले गत आवमा कुल १४ लाख ६६ हजार किलोलिटर डिजेल खपत गरेको भन्सार विभागले जानकारी दिएको छ ।
विभागका अनुसार यसै अवधिमा नेपालले ६४ अर्ब १२ करोड रुपैयाँ बराबरको ७ लाख ४६ हजार किलोलिटर पेट्रोल र ४८ अर्ब ७६ करोड रुपैयाँ बराबरको ५५ करोड ४६ लाख किलो खाना पकाउने ग्याँस आयात गरेको देखिन्छ ।
नेपालको व्यापारघाटामा धेरै प्रभाव पार्ने पेट्रोलियम पदार्थको आयात घटाउन सरकारी तवरबाट विभिन्न तयारी र सोहीअनुसारका कदमहरु चालिएपनि त्यसले प्रभाव नपारेको तथ्यांकहरुले देखाउँछन् । यस्तै पछिल्लो समय पेट्रोलियमको खपत घटाउँदै व्यापारघाटा न्यूनीकरण गर्नका लागि जलविद्युतको उत्पादन, खपत र प्रयोग बढाउने योजनाहरु लगातार सार्वजनिक गरिँदै आएको छ ।
सरकारले खाना पकाउने ग्याँस प्रतिश्थापन गर्नका लागि इन्डक्सन चुल्होलाई प्राथमिकता दिने, विद्युतीय गाडीहरुको प्रयोग बढाउनेलगायतका क्रियाकलापमा अग्रसरता देखाएपनि पेट्रोलियम पदार्थको आयातमा यस्ता क्रियाकलापले तात्विक फरक नपारेको यसको आयातका तथ्यांकले देखाउँछन् ।