Logo

मूल्यवृद्धिले नेपालको व्यापारघाटामा थप धक्का, परिमाण घटेपनि बाहिरिने रकम घटेन

मूल्यवृद्धिले नेपालको व्यापारघाटामा थप धक्का, परिमाण घटेपनि बाहिरिने रकम घटेन



काठमाडौं । सरकारले गत आर्थिक बर्षको पुसदेखि व्यापारघाटालाई केही नियन्त्रण गर्ने भन्दै आयातमा केही कडाई गर्याे । शीर्षक नै तोकेर २० वस्तुको आयातमा ५० प्रतिशत र शतप्रतिशत नगद मार्जिनको व्यवस्था गर्याे । अन्य केही वस्तुको आयातमा प्रतिवन्ध पनि लगायो । चालू आर्थिक बर्षको पहिलो ६ महिनामा गत आवको सोही अवधिको तुलनामा समग्र आयातमा केही नियन्त्रण भएपनि व्यापारघाटामा मुख्य योगदान गर्ने वस्तुको आयातमा भने कुनै फरक परेन । यस्तो वस्तु आयात नियन्त्रणका लागि पनि सरकारले धेरै हतकण्डा अपनायो तर, विश्वबजारमा बढेको मुद्रास्फीतिका कारण आयात नियन्त्रणमा गरेको पहल असफलजस्तै देखियो ।

नेपालमा उच्च व्यापारघाटा गराउने प्रमुख वस्तुको सधैं पहिलो सूचीमा पेट्रोलियम पदार्थ हुन्छ । यसैको कुरा गर्दा चालू आवको पहिलो ६ महिनामा पेट्रोलियम पदार्थको आयातमार्फत मात्रै देशले १ खर्ब ६४ अर्ब ८० करोड रुपैयाँ बढीको व्यापारघाटा व्यहोरेको छ । गत आवको सोही अवधिमा नेपालले पेट्रोलियम पदार्थको आयातमार्फत १ खर्ब ५३ अर्ब ८१ करोड रुपैयाँ बराबरको व्यापारघाटा व्यहोरेको थियो ।

चालु आवको पहिलो ६ महिनामा नेपालमा गत आवको सोही अवधिको तुलनामा करिव १० अर्ब रुपैयाँ बढीको पेट्रोलियम आयात भएको देखिन्छ । जुन परिमाणमा भने कम आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । नेपालले उच्च व्यापारघाटा व्यहोर्नुपर्ने वस्तु पेट्रोलियम पदार्थको आयात नियन्त्रण गर्न नेपालमा उत्पादिन विजुलीको भरपुर प्रयोगमा जोड दिइरहेको छ । जसको प्रभाव पेट्रोलियम पदार्थको आयातमा देखिएपनि मूल्यवृद्धिका कारण यसमार्फत बाहिरिने रकममा भने प्रभाव परेन ।

भन्सार विभागका अनुसार चालु आवको पहिलो ६ महिनामा ७० खर्ब १० करोड ५७ लाख रुपैयाँ बराबरको ५ लाख ५० हजार ९ सय २ किलोलिटर डिजेल नेपाल भित्रिएको छ । यो गत आर्थिक बर्षको सोही अवधिको तुलनामा परिमाण २ लाख ७९ हजार ३ सय ७१ किलोलिटर कम हो भने मूल्य अर्थात बाहिरिएको रकम ८ अर्ब ६३ करोड २० लाख रुपैयाँले बढी हो । गत आर्थिक बर्षको पहिलो ६ महिनामा नेपालमा ६१ अर्ब ४७ करोड रुपैयाँ बढीको ८ लाख ३० हजार २ सय ७३ किलोलिटर डिजेल आयात भएको थियो ।

यस्तै चालु आवको ६ महिनामा गत आवको सोही अवधिको तुलनामा पेट्रोल आयातको परिमाण घटेपनि यसमार्फत बाहिरिने रकम भने बढेको छ । गत आवको पहिलो ६ महिनामा नेपालमा २९ अर्ब २७ करोड २५ लाख रुपैयाँ बराबरको ३ लाख ७१ हजार ८ सय २० किलोलिटर पेट्रोल आयात भएको थियो । त्यो परिमाण यो बर्षको छ महिनामा घटेर ३ लाख ३४ हजार ३ सय १५ किलोलिटर पुगेपनि यसमार्फत बाहिरिने रकम भने बढेर ३३ अर्ब ५३ करोड ५७ लाख रुपैयाँ पुगेको हो ।

यता खाना पकाउने ग्याँस आयातको अवस्था भने फरक छ । गत आर्थिक बर्षको पहिलो ६ महिनामा २६ करोड ४६ लाख किलो आयात भएको खाना पकाउने ग्याँस चालु आर्थिक बर्षको सोही अवधिमा घटेर २४ करोड ७७ लाख किलोमा पुग्यो । तर, यसमार्फत बाहिरिने रकम केही बढेको छ । गत आवको पहिलो ६ महिनामा २९ अर्ब २३ करोड रुपैयाँ यसमार्फत बाहिरिएको थियो भने यो बर्ष उक्त रकम घटेर २८ अर्ब २० करोड रुपैयाँमा पुगेको हो ।

यसरी हेर्दा यो बर्षको पहिलो ६ महिनामा आयात भएको पेट्रोलियम पदार्थको परिमाण घटेपनि बाहिरिने रकम भने नघटेको देखिन्छ । यता मूल्यवृद्धिको कुरा गर्दा गत बर्षको तुलनामा चालू आवको पहिलो केही महिनामा विश्वबजारमै कच्चा पेट्रोलियमको मूल्य उच्च हुन पुग्यो । गत बर्ष विश्वबजारमा करिव ७० डलर प्रतिव्यारलको आसपासमा कारोबार भइरहेको कच्चा पेट्रोलियमको मूल्यले चालु आवको पहिलो केही महिनामा बढेर १ सय १५ डलर प्रतिव्यारको आसपासमा कारोबार भएको थियो । जसका कारण नेपालमा आयात हुने पेट्रोलियम पदार्थको परिमाण घटेपनि यसमार्फत हुने व्यापारघाटा भने बढिरह्यो ।

प्रतिक्रिया दिनुहोस्
MBL