Logo

जेन–जी आन्दोलनमा हिंसा भड्किँदा पाँच सहरमा कर्फ्यू, मृतककाे संख्या १७ पुग्याे

जेन–जी आन्दोलनमा हिंसा भड्किँदा पाँच सहरमा कर्फ्यू, मृतककाे संख्या १७ पुग्याे



काठमाडौं । भ्रष्टाचारविरुद्ध देशव्यापी प्रदर्शनमा उत्रिएका जेन–जी समूहका युवाहरू र सुरक्षाकर्मीबीचको झडप चर्किएपछि स्थानीय प्रशासनले विभिन्न सहरमा कर्फ्यू आदेश जारी गरेको छ।

सोमबार काठमाडौंमा भएको प्रदर्शनमा १७ जनाभन्दा बढीको मृत्यु भएको र २ सयभन्दा बढी घाइते भएको विवरण सार्वजनिक भएको छ। काठमाडौं उपत्यकासहित झापाको दमकमा अश्रुग्याँस प्रहार गरिएको छ भने केही क्षेत्रमा गोलीसमेत चलाइएको छ।

प्रदर्शन नियन्त्रणबाहिर गएपछि काठमाडौं, पोखरा, इटहरी, बुटवल र भैरहवामा कर्फ्यू आदेश जारी गरिएको छ। यस अवधिमा भेला, जुलुस, नाराबाजी तथा कुनै पनि किसिमको प्रदर्शन पूर्ण रूपमा निषेध गरिएको प्रशासनले जनाएको छ।

काठमाडौंमा जेन–जी समूहका युवाहरू संसद भवनभित्र प्रवेश गरेपछि जिल्ला प्रशासन कार्यालयले संसद भवन, सिंहदरबार, प्रधानमन्त्री निवास, नारायणहिटी दरबार, राष्ट्रपति र उपराष्ट्रपति निवासलगायतका क्षेत्रलाई लक्षित गर्दै अपरान्ह १ बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यू आदेश लागू गरेको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिएका छन्।

आदेशअनुसार शीतल निवास, हरित गृह, नारायणहिटी दरबार संग्रहालय, सिंहदरबार, प्रधानमन्त्री निवास वालुवाटार र संसद भवन नयाँ बानेश्वर परिसरका विभिन्न परिधि क्षेत्रमा आवतजावत, सभा, भेला, प्रदर्शन, घेराउ पूर्ण रूपमा निषेध गरिएको छ।

प्रतिक्रिया दिनुहोस्