काठमाडौं । म्याग्दीका नौं सयभन्दा बढी घरमा ‘एक घर, एक धारा’ सहितको खानेपानी सुविधा विस्तार भएको छ ।खानेपानी वितरण गरेको डिभिजन प्रमुख झलकमोहन ओझाका अनुसार खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा सञ्चालन गरेका योजनाबाट नौ सय ३१ घरमा खानेपानीको पहुँच विस्तार भएको हो। एक हजार २८३ वटा धारा निर्माण भएकामा नौ सय ३१ वटा धारामा मिटर जडान गरिएको छ ।
आयोजनामार्फत तीन हजार ११९ मिटर मुख्य, एक सय छ किलोमिटर शाखा पाइपलाइन, चार हजार ७२ घनमिटर क्षमताका २२ वटा रिजर्भ ट्याङ्की र दुई सय ७७ वटा अन्य संरचना निर्माण भएका छन् । प्रदेश सरकारका ३६ वटा योजनाका लागि रु छ करोड ९८ लाख २५ हजार बजेट विनियोजन भएकामा ३५ वटा कार्यान्वयन र ९६ दशमलव ०९ प्रतिशत अथवा रु छ करोड ७० लाख ९५ हजार खर्च भएको छ । संघीय सरकारका पाँचवटा योजनाका लागि रु ५१ लाख बजेट प्राप्त भएकामा तीन वटा योजना कार्यान्वयन र रु ४३ लाख ९५ हजार अथवा ८६.१९ प्रतिशत खर्च भएको कार्यालय प्रमुख ओझाले बताए ।
यस वर्ष दोवा, हिस्तान औला, पुलाचौर, बरंजाको दह–खर्कमा एक घर घर धारासहितको खानेपानी सुविधा विस्तार भएको छ । घराम्दी खानेपानी योजनाको औला स्किमको उपभोक्ता समितिका अध्यक्ष डिलप्रसाद फगामीले सबै उपभोक्ताको घरघरमा मिटरसहितको धारा जडान गरेर खानेपानी वितरण गरिएको बताए ।