काठमाडौं । बीपी राजमार्गमा पर्ने काभ्रेको माम्ती खोलामा खसेको पहिरो हटाएपछि आज (सोमबार) बिहानबाट गाडी चल्न थालेका छन् । आइतबार राति साढे १० बजेतिर वर्षासँगै आएको भेलले सडक कटान गर्दा रोसी गाउँपालिका– ११ माम्तीमा रातभर सवारी साधन अवरुद्ध भएका थिए ।
बाढीले कटान गर्दा अवरुद्ध बनेको सडक २ वटा जेसीभीको सहायतामा मर्मत गरेपछि आज बिहान ६ बजेबाट गाडी चल्न थालेका जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । माम्तीमा अहिले दुईतर्फी नै गाडीहरू चलिरहेका छन्।
त्यस्तै रोशी गाउँपालिका– ९ पिन्थली, रोसी ९ कै बिरुवाडाँडा र कालढुङ्गामा पनि पहिरो खसेर अवरुद्ध भएको बीपी राजमार्गमा गाडीहरु चल्न थालेका प्रहरीले जनाएको छ। जेसीभीको सहायतमा तीनै ठाउँको पहिरो हटाएपछि गाडी चल्न थालेका हुन्। गत असार १६ गते, असार २५ र २६ गते पनि पिन्थलीमा सडक अवरुद्ध भएको थियो भने असार २५ गते मंगलटारको बिरुवाडाँडामा सडक अवरुद्ध भएको थियो ।