Logo

नेपालको व्यापारको लाइफलाइन ‘रसुवागढी नाका’, १० दिनभित्रै पुनः संचालन गर्न सम्भव

नेपालको व्यापारको लाइफलाइन ‘रसुवागढी नाका’, १० दिनभित्रै पुनः संचालन गर्न सम्भव



काठमाडौं । नेपालको उत्तरी सीमामा अवस्थित रसुवागढी नाका नेपालको आयात व्यापारको एक प्रमुख लाइफलाइनको रूपमा स्थापित छ । चालु आर्थिक वर्षको हालसम्मको तथ्यांकलाई हेर्दा यो नाका नेपालमा धेरै आयात हुने नाकाहरूमध्ये छैटौँ स्थानमा पर्छ । यो नाकाबाट चालु आर्थिक वर्षको ११ महिनामा ८० अर्ब ९१ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने १ अर्ब ९६ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ ।

कुल आयातको हिसाबले यो नाकाबाट नेपालमा भित्रिने वस्तुहरूले करिब ४ प्रतिशत हिस्सा ओगट्छ । विशेष गरि नेपालीहरूले मनाउने दसैँ, तिहारजस्ता चाडपर्वहरू नजिकिँदै गर्दा यो नाकाबाट आयात हुने वस्तुहरूको मात्रा थप बढ्छ । तर, गत हप्ता शनिबार राति ल्हेन्दे खोलामा आएको विनाशकारी बाढीले यो नाकाको मुख्य प्रवेशद्वार मितेरी पुल भत्काएपछि आयात र निर्यात दुवैमा ठूलो अवरोध उत्पन्न भएको छ ।

रसुवागढी नाकाबाट नेपालले जलविद्युत आयोजनाका लागि आवश्यक उपकरण, तयारी पोशाक, गार्मेन्ट उद्योगका लागि कच्चा कपडा, गाडी, खाद्यान्नमा ओखर, लसुन, स्याउलगायतका वस्तुहरू आयात गर्छ । चाडपर्वको समयमा विद्युतीय सामग्री, ड्राइफ्रुट्सजस्ता वस्तुहरूको आयात यो नाकाबाट झनै बढ्छ । यी वस्तुहरू नेपाली बजारमा विशेष माग हुने र चाडपर्वको समयमा उपभोक्ताहरूको आवश्यकता पूरा गर्ने भएकाले यो नाका आर्थिक दृष्टिकोणले अझ महत्त्वपूर्ण बन्छ । तर, बाढीले मितेरी पुल मात्र नभई नेपालतर्फको करिब १२ सय मिटर सडक र विभिन्न १० स्थानमा बाटो भत्काएको छ । यसले नेपाली व्यापारीहरूले आयात गरेका र निर्यातका लागि तयार पारिएका कन्टेनरहरूलाई समेत ठूलो क्षति पुर्याएको छ । बाढीले लत्ताकपडा, जुत्ताका लागि आवश्यक कच्चा पदार्थलगायत करोडौँ मूल्यका सामानहरू नष्ट भएका छन्, जुन दसैँका लागि आयात गरिएका थिए ।

रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन अधिकारीका अनुसार नेपाल र चीन दुवैतर्फ यो नाका यथाशीघ्र सञ्चालनमा ल्याउन तीव्र गतिमा काम भइरहेको छ । नेपालतर्फ सडक मर्मतको काम लगभग सम्पन्न हुने चरणमा छ भने चिनियाँ पक्षबाट पनि सडक र पुल मर्मतको काम तीव्र गतिमा भइरहेको जानकारी प्राप्त भएको छ । अधिकारीले यो नाकालाई चाँडै सञ्चालनमा ल्याउन सकिने आशा व्यक्त गरेका छन् । यता, नेपाल चेम्बर अफ कमर्शका पूर्वअध्यक्ष तथा नेपाल–चीन व्यापारका जानकार राजेशकाजी श्रेष्ठले चिनियाँ पक्षबाट प्राप्त जानकारीअनुसार मितेरी पुल र अन्य संरचनाको मर्मत १० दिनभित्रै सम्पन्न हुने र नाका पुनः सञ्चालनमा आउने जानकारी पाएकाे बताए । रसुवामै रहेका व्यवसायीहरुका अनुसार आगामी १० दिनमै चिनियाँतर्फबाट बेलिब्रिजको काम सम्पन्न हुने र नेपालतर्फको बाटो अबको ५ दिनमै मर्मन गर्न सकिने भएपछि अवको १० दिनभित्रमै पुनः उक्त नाकाबाट आयात निर्यात सुचारु हुने उनले बताए । यदि यो समयसीमाभित्र काम सम्पन्न भएमा चाडपर्वका लागि आवश्यक वस्तुहरूको आयातमा सहजता आउने उनको विश्वास छ ।

यो बाढीले विशेषगरी दसैँका लागि आयात गरिएका सामानहरूमा ठूलो नोक्सानी भएको श्रेष्ठ बताउँछन् । नेपाली व्यापारीहरूले करोडौँ मूल्यका लत्ताकपडा, जुत्ताका कच्चा पदार्थलगायतका सामानहरू आयात गर्दै थिए । यी सामग्री नै बाढीले नष्ट गरेको छ । यसले नेपाली बजारमा चाडपर्वको समयमा हुने मागलाई प्रभावित पार्ने सम्भावना छ । यस्तो अवस्थामा रसुवागढी नाकाको विकल्पको रूपमा तातोपानी र कोरोला नाकालाई सञ्चालनमा ल्याउनुपर्ने श्रेष्ठको सुझाव छ । ‘तातोपानी नाकाको नेपालतर्फको सडकमा केही राजनीतिक अवरोध रहेको भएपनि त्यसलाई समाधान गरी रसुवाबाट आयात हुने वस्तुहरूलाई तातोपानीमार्फत डाइभर्ट गर्न सकिने अवस्था छ,’ उनले भने, ‘कोरोला नाकाको सडक पूर्वाधार पनि तयारी अवस्थामा रहेकोले यो नाकालाई पनि चाँडै सञ्चालनमा ल्याउन सकिन्छ ।’ यी दुवै नाकालाई प्रभावकारी रूपमा सञ्चालन गर्नसके चाडपर्वको समयमा बजारमा हुने सामानको अभावलाई कम गर्न सकिन्छ ।

चालु आर्थिक वर्षको ११ महिनामा नेपालले चीनबाट ३ खर्ब १४ अर्ब रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । यसमध्ये झन्डै आधा, अर्थात् १ खर्ब ५० अर्बभन्दा बढी मूल्यका वस्तुहरू उत्तरी नाकाहरूबाट आयात भएका छन् भने बाँकी समुद्री मार्गमार्फत आएका छन् । रसुवागढी नाकामा आएको यो समस्याले अब धेरैजसो वस्तुहरू समुद्री मार्गबाट आयात गर्नुपर्ने बाध्यता बढेको छ । तर, समुद्री मार्गबाट आयात गर्दा ढुवानी समय र लागत दुवै बढ्ने भएकाले नेपाली बजारमा सामानको मूल्यवृद्धि हुने जोखिम पनि उत्तिकै छ । विशेषगरी चाडपर्वको समयमा उपभोक्ताहरूलाई सामानको अभाव र मूल्यवृद्धिको दोहोरो मार पर्ने निश्चितजस्तै भएको देखिन्छ । ‘रसुवागढी नाकाको यो अवरोधले नेपालको व्यापारमा ठूलो प्रभाव पारेको छ । यो नाका नेपाल–चीन व्यापारको एक महत्त्वपूर्ण कडी हो र यसको पुनः सञ्चालनले मात्र बजारमा सामानको आपूर्ति सहज हुने देखिन्छ’, श्रेष्ठले बिजखबरसँग भने ।

प्रतिक्रिया दिनुहोस्