काठमाडौं । गएको आर्थिक बर्ष २०८१/८२ मा मात्रै विभिन्न विद्युतीय प्रणालीमार्फत ९ सय ८४ खर्ब रूपैयाँ बढीको विद्युतीय कारोबार भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकलाई आधार मान्दा उक्त आर्थिक बर्षभरी ९ सय ८४ खर्ब ३१ अर्ब ४३ करोड रुपैयाँ बराबरको विद्युतीय कारोबार भएको हो ।
खासगरी पछिल्लो समय विद्युतीय प्रणालीको प्रयोग गर्दै धेरैजसो कारोबारहरु हुन थालेपछि विद्युतीय कारोबारहरु पनि बढ्दै गएका छन् । यसैको उदाहरणस्वरुप गत आवमा सबैभन्दा बढी कारोबार हुने माध्यमका रुपमा रियल टाइम ग्रस सेटलमेन्ट(आरटीजीएस)लाई लिन सकिन्छ । उक्त प्रणालीमार्फत गत आवभरी ७ सय ४९ खर्ब बढीको कारोबार भएको छ ।
यस्तै यसै अवधिमा विद्युतीय चेक क्लियरिङ अर्थात इसीसीमार्फत ६२ खर्ब रुपैयाँ बढीको कारोबार हुँदा फास्टर पेमेन्ट सिस्टममार्फत ५२ खर्ब रुपैयाँ बराबरको विद्युतीय कारोबार भएको छ ।
यस्तै मोबाइल बैंकिङमार्फत ५० खर्ब, आइपीएसमार्फत २९ खर्ब, डेबिट कार्डमार्फत २९ खर्ब, एटीएममार्फत १० खर्ब रुपैयाँ बढीको विद्युतीय कारोबार भएको तथ्यांकमा देखिन्छ ।
यस्तै पछिल्लो समय बढी प्रचलनमा आएको क्यूआरमा आधारित भुक्तानी भने ९ खर्ब ५८ अर्ब रुपैयाँ बराबरको हुँदा इकमर्श प्रणालीमार्फतको भुक्तानी २ खर्ब ६६ अर्ब माथिको भएको देखिन्छ ।
असार र साउनमा धेरै भुक्तानी
गत आर्थिक बर्षभरीको विद्युतीय भुक्तानीको प्रवृत्तिलाई हेर्दा असार र साउन महिनामा भने सबैभन्दा बढी विद्युतीय कारोबार भएको देखिन्छ । राष्ट्र बैंकको तथ्यांकलाई नियाल्दा गत आर्थिक बर्षको पहिलो महिना साउनमा मात्रै १ सय २६ खर्ब रुपैयाँ बराबरको भुक्तानी हुँदा गएको असार महिनामा १ सय १९ खर्ब रुपैयाँ बराबरको भुक्तानी भएको देखिन्छ ।
यी दुईबाहेकका महिनामा भने १ सय खर्ब तलकै भुक्तानी भएको देखिएको छ । यद्यपी अन्य १० महिनामा पनि जेठ महिनामा ८३ खर्ब, बैशाखमा ८१ खर्ब ७६ करोड र भदौमा ८१ खर्ब ६५ अर्ब रुपैयाँ बराबरको विद्युतीय भुक्तानी भएको देखिन्छ ।