काठमाडौं । सवारी साधन आयात, उत्पादन तथा जडानसम्बन्धी प्रस्तावित निर्देशिका विषयमा नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा) र यातायात व्यवस्था विभागबीच छलफल भएको छ।
नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले विभागका महानिर्देशक राजिव पोखरेलसँग भेटवार्ता गर्दै अटोमोबाइल क्षेत्रका विभिन्न पक्षमा धारणा राखेको हो। अध्यक्ष चौधरीले विभागद्वारा तयार पारिँदै गरिएको सवारी साधन सम्बन्धी निर्देशिका २०८२ को तयारीप्रति प्रशंसा गर्दै नाडा र विभागबीच सहकार्यमा विस्तृत छलफलको आवश्यकता औंल्याए।
उपाध्यक्ष राजनबाबु श्रेष्ठले निर्देशिकामा उल्लेखित केही बुँदाहरू यथार्थ र व्यावहारिक बनाउने गरी सिलसिलेवार छलफल आवश्यक रहेको धारणा व्यक्त गरे। महासचिव सुरेन्द्रकुमार उप्रेतीले नीतिगत स्पष्टता ल्याउन गलत कार्य गर्नेहरूलाई दण्ड र सहीलाई प्रोत्साहन दिनुपर्ने बताए। साथै, नेपालमै व्याट्री उद्योग स्थापना भइसकेको उल्लेख गरे।
छलफलमा विभागका प्राविधिक निर्देशक श्रीकान्त यादवले संयुक्त राष्ट्रसंघ र युरोपेली युनियनमा अवलम्बन गरिएका मापदण्डहरूमाथि अध्ययन गरिएको जानकारी गराए।
महानिर्देशक पोखरेलले सवारी साधन आयातका लागि नेपालमा अहिलेसम्म स्पष्ट नियम नभएको उल्लेख गर्दै प्रस्तावित निर्देशिकामार्फत व्यवस्थापन गरिन लागिएको बताए। उनले नाडा जस्ता सरोकारवाला निकायसँग थप छलफल गरेर नीतिगत स्पष्टता ल्याउने प्रतिबद्धता पनि जनाए।