काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा राष्ट्रियस्तरका विकास बैंकहरुले ५ अर्ब ६० करोड ७७ लाख ७१ हजार रुपैयाँ खुद नाफा कमाएका छन् । यो अघिल्लो वर्षको यसैअवधिमाभन्दा २२.०१ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यसैअवधिमा विकास बैंकहरुले ४ अर्ब ५९ करोड ६२ लाख ५२ हजार रुपैयाँ खुद नाफा कमाएका थिए ।
यस अवधिमा सबैभन्दा धेरै खुद नाफा कमाउनेमा मुक्तिनाथ विकास बैंक रहेको छ । एक वर्षमा यसको नाफा ३०.७० प्रतिशतले बढेर १ अर्ब ५३ करोड ७४ लाख ३१ हजार रुपैयाँ पुगेको छ । त्यस्तै, गरिमा विकास बैंकको नाफा २०१.९७ प्रतिशतले बढेर १ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ ।

एक वर्षको अवधिमा सबैभन्दा धेरै खुद नाफा वृद्धिमा गर्नेमा पनि मुक्तिनाथ अगाडि छ । एक वर्षको अवधिमा लुम्बिनी विकास बैंक र ज्योति विकास बैंकबाहेक अरु सबै बैंकको खुद नाफा बढेको छ ।
प्रतिसेयर लाभांश वितरण क्षमतामा पनि मुक्तिनाथ विकास बैंक अगाडि
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा सबैभन्दा धेरै प्रतिसेयर लाभांश वितरण क्षमता पनि मुक्तिनाथ विकास बैंककै रहेको छ । यसको प्रतिसेयर लाभांश वितरण क्षमता २० रुपैयाँ ७५ पैसा रहेको छ । यो अघिल्लो वर्षकोभन्दा १७.९९ प्रतिशतले बढी हो । दोस्रोमा कामना सेवा विकास बैंक रहेको छ ।

यसको प्रतिसेयर लाभांश वितरण क्षमता १७.३ प्रतिशत छ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश वितरण क्षमता १३.९६ प्रतिशत छ । ८ मध्ये ज्योति विकास बैंकबाहेक अरु सबै बैंकसँग गत वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश वितरण क्षमता रहेको छ ।
प्रतिसेयर आम्दानी, नेटवर्थ र खराब कर्जामा कुनको अवस्था कस्तो ?
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा ८ राष्ट्रियस्तरका विकास बैंकमध्ये सबैभन्दा धेरै प्रतिसेयर आम्दानी गरिमा विकास बैंकको रहेको छ । यसको प्रतिसेयर आम्दानी २३ रुपैयाँ ०७ पैसा छ । मुक्तिनाथ विकास बैंकको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ८२ पैसा छ ।

यता, सबैभन्दा धेरै प्रतिसेयर नेटवर्थ लुम्बिनी विकास बैंकको १९२.७३ प्रतिशत रहेको छ । मुक्तिनाथ विकास बैंकको प्रतिसेयर नेटवर्थ १६९.९५ प्रतिशत छ । सबैभन्दा थोरै खराब कर्जा हुनेमा मुक्तिनाथ विकास बैंक रहेको छ । यसको खराब कर्जा २.७५ प्रतिशत छ । सबैभन्दा धेरै खराब कर्जा ज्योति विकास बैंकको ७.९८ प्रतिशत छ ।