Logo

गण्डकी प्रदेशमा आठ सय जनामा डेंगु सङ्क्रमण, पोखरा डेंगुको ‘हटस्पट’

गण्डकी प्रदेशमा आठ सय जनामा डेंगु सङ्क्रमण, पोखरा डेंगुको ‘हटस्पट’



काठमाडौं । गण्डकी प्रदेशमा गत पुसयता डेंगु सङ्क्रमित हुनेको संख्या आठ सय ११ पुगेको छ । पछिल्लो तीन सातामा मात्र दुई सय दुई जनामा उक्त रोगको सङ्क्रमण पुष्टि भएको छ ।

प्रदेशको स्वास्थ्य मन्त्रालयको आँकडाअनुसार सबैभन्दा बढी कास्कीमा चार सय ४१, तनहुँमा एक सय २०, लमजुङमा ९३, गोरखामा ५८, बागलुङमा ३२, स्याङ्जामा ३२, पर्वतमा २०, म्याग्दीमा १०, नवलपुर चार र मुस्ताङमा जम्मा एक जनामा डेंगु रोग देखिएको हो । मनाङ जिल्लामा यस वर्ष अहिलेसम्म डेंगु देखिएको छैन ।

प्रदेशभरमा पुष्टि भएका सङ्क्रमितमध्ये आधाभन्दा बढी बिरामी कास्कीको पोखरा महानगरपालिकाका हुन् । पोखरामा हालसम्म चार सय ३२ जनामा डेंगु सङ्क्रमण देखिएको छ । पछिल्लो तीन सातामा पोखरामा एक सय २९ जना डेंगी सङ्क्रमणका बिरामी थपिएका थिए ।

प्रदेशको राजधानी पोखरा गत वर्ष डेंगुको ‘हटस्पट’ बनेको थियो । उक्त वर्ष पोखरा महानगरपालिकामा मात्र आठ हजार छ सय जनाभन्दा बढीमा डेंगु सङ्क्रमण भएको थियो । डेंगु सङ्क्रमणबाट पोखराका तीन जनाको मृत्यु भएको थियो । साउनदेखि कात्तिकसम्म डेंगु सङ्क्रमण बढ्ने जोखिम उच्च रहने भएकाले आगामी दिनमा सङ्क्रमणको दर बढ्दै जाने अनुमान छ । डेंगु न्यूनीकरण, रोकथाम तथा व्यवस्थापनका लागि स्वास्थ्य मन्त्रालयलगायत सम्बन्धित निकायले सक्रियता बढाएका छन् ।

स्थानीय तहले डेंगु रोग फैलन नदिन डेंगु सार्ने लामखुट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन गरिरहेका छन् । डेंगु फैलाउने लामखुट्टेको टोकाइबाट जोगिन घर, कार्यालय र सार्वजनिक स्थलमा रहेका खाल्डाखुल्डी, पुराना टायर, ड्रम, भाँडाकुँडा आदिमा पानी जम्मा हुन नदिने र त्यस्ता स्थल भेटिएमा नष्ट गर्नुपर्ने स्वास्थ्यकर्मीको सुझाव छ । ‘एडिस एजिप्टाइ’ जातको पोथी लामखुट्टेको टोकाइबाट डेंगु सर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्