काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी श्रीमती एवं पूर्व परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा आज डिस्चार्ज हुँदैछन् । जेन–जी आन्दोलनको क्रममा प्रदर्शनकारीको आक्रमणमा परेका देउवा दम्पत्ति गत भदौ २४ गतेदेखि उपचाररत छन् ।
जेन–जी प्रदर्शनकारीहरुले देउवा दम्पत्तिको गर्धनमा धारिलो हतियारले प्रहार गरेका थिए । देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार अहिले देउवा दम्पत्तिको स्वास्थ्यमा सुधार रहेकाले उपचारमा संलग्न चिकित्सकको सल्लाहअनुसार आज डिस्चार्ज हुन लागिएको हो ।
जेन–जी आन्दोलनका क्रममा देउवा निवास बुढानीलकण्ठ जलेर पूर्ण रुपमा ध्वस्त भएको छ । डिस्चार्जपछि देउवा दम्पत्तिको अस्थायी बसोबास ललितपुरको सानेपा वा जावलाखेलमध्ये एक ठाउँमा हुने बताइएको छ ।
सानेपाको झम्सिखेलमा आरजु राणको माइती घर छ । जावलाखेलमा भने आरजुका भाइ भूषण राणाको घर छ । बुढानीलकण्ठको निवास पुनर्निर्माणमा समय लाग्ने भएकाले उनीहरु अस्थायी रुपमा जावलाखेल वा सानेपामा बस्ने बताइएको छ । जावलाखेलको घर मध्य बजारमा भएकाले सुरक्षाको दृष्टिकोणले झम्सिखेल नै उपयुक्त हुने सुझाव देउवालाई नेता तथा कार्यकर्ताहरुले दिएको बताइएको छ ।