काठमाडौं । नेपालको निर्यात व्यापारमा लगातार उच्च स्थान हासिल गर्दै आएको कच्चा भटमास तेलले आयात व्यापारमा पनि छलाङ मारेको छ । पछिल्लो समय अर्थात नेपालको हालसम्मको आयात व्यापारमा उच्च हिस्सा ओगट्दै आएको पेट्रोलियम पदार्थको आयात यसपल्ट छायामा परेको छ ।
भन्सार विभागले हालै सार्वजनिक गरेको तथ्यांकलाई आधार मान्दा चालु आर्थिक बर्ष २०८२/८३ को पहिलो २ महिनामा नेपालको कुल आयात व्यापारमा कच्चा भटमासको तेलको हिस्सा उल्लेख्य रहेको देखिन्छ । तथ्यांकमा उल्लेख गरिएअनुसार साउन र भदौ महिनामा नेपालमा कच्चा भटमासको तेल मात्रै २१ अर्ब ६४ करोड रुपैयाँ बराबरको आयात भएको देखिन्छ । यो नेपालमा हालसम्म सबैभन्दा धेरै आयात हुँदै आएको डिजेलको तुलनामा करिव ७ अर्ब रुपैयाँले बढी हो । अर्थात यहि अवधिमा नेपालमा डिजेल भने १४ अर्ब ९१ करोड रुपैयाँ बराबरको मात्रै आयात भएको देखिन्छ ।
यस्तै डिजेलपछि धेरै आयात हुँदै आएको पेट्रोलको आयात पनि यो बर्ष छायाँमा परेको तथ्यांकमा उल्लेख छ । तथ्यांक अनुसार यसपल्ट पेट्रोको आयातलाई भने रसायनीक मलले उछिनेको देख्न सकिन्छ । यस अवधिमा नेपालमा १० अर्ब ५८ करोड रुपैयाँ बराबरको १ लाख २७ हजार किलोलिटर पेट्रोल आयात भएकोमा त्यो भन्दा बढी अर्थात १३ अर्ब ६६ करोड रुपैयाँ बराबरको रसायनीक मल आयात भएको देखिन्छ ।
नेपालका उद्योगी व्यापारीहरुले भारतमा नेपालबाट प्रशोधित खानेतेल निर्यात गर्दा पाउने साफ्टाको सुविधा उपयोग गर्न पाएपछि नेपालबाट यसको निर्यात अत्याधिक बढेको छ । तर, नेपालमा न्यून मात्रामा मात्रै उत्पादन हुने भटमास भने नेपाली उद्योगीहरुले विदेशबाट आयात गरी नेपालमा प्रशोधन गरी पुनः भारत पठाउने गरेका छन् । यसैका कारण नेपालको आयात व्यापारमा पछिल्लो समय कच्चा तेलजन्य पदार्थले बहुल हिस्सा ओगट्दै गएका छन् । धेरै आयात हुने अन्य वस्तुहरुमा भने पछिल्लो २ महिनामा भटमासको कच्चा तेल, डिजे, रसायनीक मल र पेट्रोलपछि क्रमशः खाना पकाउने ग्याँस, फलाम, आइरन रोल, एसेम्बल नगरिएका मोटरसाइकललगायतका वस्तुहरु छन् ।
यता निर्याततर्फ पनि धेरै निर्यात हुने वस्तुको पहिलो सूचीमा भटमासको प्रशोधित तेल रहेको विभागको तथ्यांकमा उल्लेख छ ।
यस अवधिमा नेपालबाट २० अर्ब ४२ करोड रुपैयाँ बराबरको भटमासको तेल निर्यात भएको देखिन्छ । यस्तै धेरै निर्यात हुने वस्तुको सूचीको दोस्रो स्थानमा भने गलैँचा छ । यस अवधिमा नेपालबाट १ अर्ब ५८ करोड रुपैयाँ बराबरको गलैँचा निर्यात भएको देखिन्छ । यसैगरी क्रमशः सुर्यमुखीको तेल, पाम तेल, फेल्ट, धागोलगायतका वस्तुहरु धेरै निर्यात भएको वस्तुको तेस्रो, चौथो, पाचौं र छैठौं स्थानमा छन् ।