काठमाडौं । पछिल्लो समय नेपालको निर्यात त्रमशः बढिरहेको छ । चालु आर्थिक बर्षको पछिल्लो १० महिनाको तथ्यांकमात्रै हेर्ने हो भनेपनि आयात र निर्यातको आँकडा उकालो लाग्दो छ । गत आवको यहि अवधिको तुलनामा चालु आवमा यस्तो आयात १३ प्रतिशतले बढ्दा निर्यात व्यापारमात्रै ७२ प्रतिशतले बढेको छ । चालु आवको १० महिनामा मात्रै नेपालले २ खर्ब १७ अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात गरिसकेको छ । यो नेपालको निर्यातमा ऐतिहासिक अंक हो ।
यसरी चालु आवको १० महिनामै समग्र निर्यात व्यापारमा अत्यधिक उछाल आउँदा सबैभन्दा ठुलो हिस्सा भने खानेतेलको रहेको छ । चालु आवको १० महिनासम्म धेरै निर्यात हुने सूचीको पहिलो स्थानमा रहेको सोयाबिन तेल ्मात्रै यस अवधिमा ७८ अर्ब ७५ करोड रुपैयाँ बराबरको निर्यात भएको छ । यो गत आर्थिक बर्षको यही अवधिको तुलनामा अत्यधिक बढी हो । गत वर्ष यसको निर्यात जम्मा ८४ करोड रुपैयाँ बराबरको भएको थियो । पछिल्लो १० महिनामा भएको कुल निर्यातमा यसले मात्रै ३६ प्रतिशत हिस्सा ओगटेको छ ।
नेपालबाट धेरै निर्यात हुने वस्तुको सूचीको दोस्रो स्थानमा पोलिस्टर यार्न र थ्रेड रहेको छ । गत आर्थिक बर्ष २०८०÷८१ मा यसको वार्षिक निर्यात ११ अर्ब २१ करोड ११ लाख र १० महिनामा ९ अर्ब ५५ करोड ५४ लाख रहेकोमा चालु आव २०८१÷८२ को १० महिनामा यो निर्यात बढेर ११ अर्ब १० करोड ४२ लाख रूपैयाँ पुगेको छ । यसले कुल कुल निर्यातमा ५.१ प्रतिशत हिस्सा ओगट्छ भने यो गत आवको सोही अवधिको तुलनामा २१.६ प्रतिशतले बढी हो ।
नेपालको निर्यात व्यापारमा उल्लेख्य योगदान दिने र धेरै निर्यात हुने वस्तुको सूचीको तेस्रो स्थानमा गलैँचा परेको छ । चालु आर्थिक बर्षको १० महिनामा नेपालबाट यो ८ अर्ब ८४ करोड रुपैयाँ बराबरको निर्यात भएको छ । कुल निर्यातमा ४.१ प्रतिशत हिस्सा ओगटेको यो वस्तु गत आवको पहिलो १० महिनाको तुलनामा चालु आवमा ०.५ प्रतिशतले बढेको हो । यो सूचीमा जिंक सिट चौथो स्थानमा छ । चालु आव २०८१÷८२ को १० महिनामा नेपालबाट जिंकसिट अर्थात जस्तापाता ८ अर्ब ५९ करोड ७६ लाख रुपैयाँ बराबरको निर्यात भएको छ । यसले नेपालको कुल निर्यातमा ३.९ प्रतिशत हिस्सा ओगटेको छ ।
अलैँची पनि नेपालको प्रमुख निर्यात वस्तु हो । चालु आवको १० महिनासम्म आईपुग्दा अलैँजी धेरै निर्यात हुने वस्तुको सूचीका पाँचौ स्थानमा छ । चालु आर्थिक बर्षको १० महिनामा नेपालले अलैँची मात्रै ६ अर्ब ६२ करोड ५४ लाख रूपैयाँ बराबरको निर्यात गरिसकेको छ । यो गत आवको तुलनामा भने ३.७ प्रतिशतले कम हो । यसले हालसम्म नेपालको कुल निर्यात व्यापारमो ३.१ प्रतिशत हिस्सा ओगटेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।
जुट र यसबाट बनेका सामान, जुस, पार्टिकल बोर्ड, तयारी पोशाक र चियाँ यो सूचीको छैठौं, सातौं, आठौं र नवौं स्थानमा छन् । चालु आवको १० महिनामा नेपालले जुटजन्य वस्तुहरु ६ अर्ब ६३ करोड २९ लाख रुपैयाँ बराबरको गर्दा जुस भने ६ अर्ब १४ करोड ७६ लाख रुपैयाँ बराबरको निर्यात गरेको छ । यस्तै यसै अवधिमा पार्टिकल बोर्ड ६ अर्ब १९ करोड ७ लाख, रेडिमेड गार्मेन्ट ४ अर्ब ६३ करोड ७४ लाख र चिया ३ अर्ब ९६ करोड ५६ लाख रुपैयाँ बराबरको निर्यात भएको छ । यीमध्ये सबै वस्तुको निर्यात गत आवको तुलनामा केहि वृद्धि भएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
तथ्यांक अनुसार नेपालको निर्यात व्यापारमा सोयाबिन तेल र पोलिस्टर यार्न र थ्रेडले सबैभन्दा ठूलो हिस्सा ओगटेका छन् । चिया र जुट सामानको निर्यातमा उल्लेखनीय वृद्धि भएको छ भने जिंक सिट र रेडिमेड गार्मेन्ट्समा कमी आएको छ ।