काठमाडौं । मनसुनी वायुको प्रभावले गए रातिदेखि नै देशभर वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरैजसो ठाउँमा वर्षा भइरहेको हो। महाशाखाले देशको पश्चिम भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ।
आज (आइतबार) दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरू तथा बाँकी भू–भागका थोरै स्थानहरू मेघगर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरू तथा बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
यस्तै राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा मेघगर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा कोशी, मधेश, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। कोशी प्रदेश र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरू तथा बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।