Logo

‘आईटीई हङकङ-२०२५’ मा नेपालको सहभागिता, जीवन्त पर्यटन प्रदर्शनका साथ नेपाली पर्यटन प्रवर्द्धन

‘आईटीई हङकङ-२०२५’ मा नेपालको सहभागिता, जीवन्त पर्यटन प्रदर्शनका साथ नेपाली पर्यटन प्रवर्द्धन



काठमाडौं । नेपाल पर्यटन बोर्डले अन्तर्राष्ट्रिय यात्रा प्रदर्शनी (आईटीई) हङकङ २०२५ मा सहभागीहरूलाई आकर्षित गर्दै नेपालको समृद्ध सांस्कृतिक सम्पदा, हिमाली दृश्यहरू, र रोमाञ्चक साहसिक गतिविधिहरू प्रदर्शन गरिरहेको छ ।

१२–१५ जुन २०२५ मा हङकङ कन्भेन्सन र प्रदर्शनी केन्द्रमा आयोजना भइरहेको यस प्रदर्शनीमा, नेपालको प्याभिलियन बूथ भी१०१, हल १इमा रणनीतिक रूपमा अवस्थित छ, जसले हङकङ र क्षेत्रीय पर्यटन बजारमा बजारिकरण र प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ ।

पर्यटन अपरेटर र एजेण्टहरुसँगको विशेष भेलामा बोर्डका वरिष्ठ प्रबन्धक उदय भट्टराईले गन्तव्य प्रस्तुति दिए जसमा विश्वव्यापी पर्यटन व्यापार समुदायलाई नेपालसँग जोडिन र यसको अतुलनीय पर्यटन सम्भावनाहरू अवलोकन गर्न निम्तो दिए ।

नेपाली प्याभिलियनले प्राचीन जीवन्त सम्पदा, भव्य हिमाली शिखरहरू, दुर्लभ वन्यजन्तु, जीवन्त सांस्कृतिक अनुभवहरू, र साहसिक गतिविधिहरुलाई आकर्षक रुपमा प्रस्तुत गरेकोछ ।

नेपाली प्याभिलियनमा हङकङका लागि महावाणिज्यदूत डा. बिन्देश्वर प्रसाद लेखकले भ्रमण गरेका छन् । उनले नेपाल पर्यटन बोर्ड र सहभागी कम्पनीहरूको प्रयासको प्रशंसा गर्दै आईटीई २०२५ मा प्रचारका अवसरहरूलाई अधिकतम उपयोग गर्न प्रोत्साहन दिए ।

नेपाल प्याभिलियनमा हिमालयन क्लब टुर्स एण्ड ट्राभल, पर्ल हलिडेज प्रा.लि.,अल्पाइन क्लब अफ हिमालयन, कनेक्ट माइस प्रा.लि.,नर्थ नेपाल ट्राभल एण्ड ट्रेक प्रा.लि., सातोरी एड्भेन्चर्स प्रा.लि., जुगल हलिडेज प्रा.लि.र क्यान्टन इन्टरनेशनल ट्राभल सर्भिस नेपाल प्रा.लि.सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This