काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय एक दिवसीय शृङखलामा नेपाल आज (आइतबार) घरेलु टोली स्कटल्याण्डसँग भिड्दै छ। खेल डुन्डेको फोर्थहिल मैदानमा दिउँसो पौने ४ बजे शुरु हुनेछ। लिग–२ को आफ्नो चौथो चरणको श्रृङखलामा नेपालले शुरुवाती दुई खेल जित्दै तालिकामा चार अंक थपेको छ ।
नेपालले गएको सोमबार भएको आफ्नो पहिलो खेलमा घरेलु टोली स्कटल्याण्डलाई एक विकेट र बुधबारको दोश्रो खेलमा नेदरल्याण्डसलाई पाँच विकेटले हराएको थियो । नेपाली टोलीले स्कटल्याण्ड भ्रमण अन्तर्गतको श्रृङखलामा आज तेस्रो खेल खेल्न लागेको हो ।
पहिलो खेलमा बलियो मानिएको घरेलु टोलीमाथि एक विकेटको रोमाञ्चक जीत निकालेको नेपाल आज पनि जीतलाई निरन्तरता दिन चाहन्छ। नेपाल र स्कटल्याण्डबीच अहिलेसम्म नौ वटा एक दिवसीय खेल भएको छ। जसमा नेपालले पाँच र स्कटल्याण्डले तीन खेल जितेको छ। एउटा खेल नतिजाविहीन भएको थियो।
नेपालले पर्सी नेदरल्याण्ड्ससँग खेल्नेछ। नेपालसहित अमेरिका, नेदरल्यान्ड्स, ओमान, स्कटल्यान्ड, क्यानडा, नामिविया र यूएई गरी आठ टोली सहभागी लिग–२ एक दिवसीय विश्वकप सन् २०२७ को छनोट प्रतियोगिता समेत हो । सन् २०२७ सम्म चल्ने लिगको अन्तिममा शीर्ष चारमा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सिधै स्थान बनाउने छ। पुछारमा रहने चार टोलीले भने विश्वकप छनोट प्लेअफ खेल्नुपर्ने छ।
नेपाल १४ खेलमा १० अंकका साथ लिगको सातौं स्थानमा छ। स्कटल्याण्ड १८ खेलमा २२ अंकका साथ चौथो स्थानमा छ। नेदरल्याण्ड्स २२ खेलमा २६ अंकका साथ दोस्रो स्थानमा र अमेरिका २० खेलमा २८ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ। नेपालले मंगलबार नेदरल्याण्ड्सविरुद्ध खेलेर यस लिग २ को यात्रा टुंग्याउने छ।