Logo

विश्वकप लिग-२ मा नेपालले नेदरल्यान्ड्सलाई हरायो, जारी सिरिजमा लगातार दोस्रो जित

विश्वकप लिग-२ मा नेपालले नेदरल्यान्ड्सलाई हरायो, जारी सिरिजमा लगातार दोस्रो जित



काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग २ मा नेपालले नेदरल्याण्ड्सलाई पराजित गरेको छ । डन्डीको फोर्टहिलमा बुधबार भएको खेलमा नेपालले नेदरल्यान्ड्सलाई ५ विकेटले पराजित गरेको हो । जारी सिरिजमा नेपालको यो लगातार दोस्रो जित हो । २२६ रनको लक्ष्य नेपालले ४७.१ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो । नेपालका लागि आरिफको अर्धशतकीय पारी खेले ।

आरिफले ९९ बलमा ७८ रन बनाए । सो क्रममा उनले ७ चौका र २ छक्का प्रहार गरे । त्यसअघि आरिफले ८१ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे । दीपेन्द्र सिंह ऐरी ३८ र गुल्शन झा ११ रनमा अविजित रहे ।

कुशल भूर्तेलले २५, कप्तान रोहित कुमार पौडेलले २३, आसिफ शेखले १९ र भीम सार्कीले ११ रन बनाए । नेदरल्यान्ड्सका लागि माइकल लेभिटले २ विकेट लिए । त्यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले ४९।१ ओभरमा सबै विकेट गुमाएर २२५ रन मात्र बनाउन सक्यो ।

नेदरल्यान्ड्सका नोह क्राएटले सर्वाधिक ४८ तथा कप्तान स्कट एडवर्डले ४६ रन बनाए । नेदरल्यान्ड्सका ब्याटरमाथि नेपाली बलर सुरुवातदेखि नै हाबी भएका थिए । सोमपाल कामीले अन्तिम विकेट लिँदै विकेट संख्या तीन पुर्याए । यस्तै सन्दीप लामिछाने, ललित राजवंशी र करण केसीले दुई–दुई विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्