काठमाडौं । सरकारले विपद् व्यवस्थापन कोषमा ४ अर्ब ६५ करोड २४ लाख रुपैयाँ मौज्दात रहेको जानकारी दिएको छ ।
गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका निमित्त कार्यकारी प्रमुख बन्धुप्रसाद बाँस्तोलाले विपद्का समयमा आपतकालीन अवस्थाका लागि प्रयोग गर्न सकिने गरी उक्त रकम मौज्दात रहेको जानकारी दिए ।
उनका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ८९ करोड २९ लाख, केन्द्रीय विपद् व्यवस्थापन कोषमा १ अर्ब २७ करोड ४७ लाख, प्रदेश विपद् व्यवस्थापन कोषमा ७९ करोड ४१ लाख रुपैयाँ मौज्दात रहेको छ ।
कोशीमा ६ करोड, ९० लाख, मधेसमा रु ११ करोड ७८ लाख, बागमतीमा रु सात करोड ५८ लाख, गण्डकीमा रु २५ करोड, लुम्बिनीमा रु छ करोड ५० लाख, कर्णालीमा रु नौ करोड ५२ लाख र सुदुरपश्चिम प्रदेशमा रु ११ करोड ८९ लाख मौज्दात रहेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका निमित्त कार्यकारी प्रमुख बाँस्तोलाले ७७ वटै जिल्लाका कोषमा रु ६९ करोड पाँच लाख मौज्दात रहेको जानकारी दिनुभयो । प्राधिकरणले यसवर्षको मनसुन पूर्वतयारी तथा प्रतिकर्याका लागि आवश्यक तयारी तीव्र गरिएको र विभिन्न निकायलाई जिम्मेवारीसमेत तोकेको उनले बताए ।
उनले भने, ‘सबै क्लष्टरलाई आपतकालीन अस्वथाका लागि पूर्णतयारीसहित जिम्मेवारी तोकिसकिएको छ । विपद्का घटना भइहाले तत्काल परिचालन हुनेगरी सबै तयारीका काम सकिएको छ ।’ कोषमा मौज्दात रहेको रकम आपतकालीन अवस्थामा आवश्यकता अनुसार तत्काल परिचालन हुने उनले बताए । रासस