काठमाडौं । यातायात व्यवसायीले आन्दोलनका कार्यक्रम फिर्ता लिएसँगै सार्वजनिक यातायात पुनः सञ्चालनमा आएको छ । मंगलबार यातायात व्यवसायी महासंघ र सरकारबीच भएको वार्तामा सहमति जुटेसँगै यातायात सञ्चालनमा आएको हो ।
मंगलबार साँझ नै गण्डकी सरकारले राइड शेयरिङ नियमावली एक महिनाका लागि स्थगित गरेपछि यातायात व्यवसायीले पनि आफ्नो आन्दोलन फिर्ता लिने निर्णय गरेका हुन् ।
राइड शेयरिङ नियमावली खारेजीको माग गरेर यातायात व्यवसायीले जेठ १९ गतेदेखि देशभरि गुड्ने सार्वजनिक यातायात बन्द गरेका थिए । काठमाडौं उपत्यकामा गुड्ने तथा उपत्यका बाहिर जाने छोटो तथा लामो दूरीका सवारी साधनहरू सञ्चालनमा आएसँगै नयाँ बसपार्कमा यात्रुहरूको चहलपहल बढेको छ ।