काठमाडौं । आन्दोलनरत यातायात व्यवसायी र सरकारबीच अहिले वार्ता भइरहेको छ। गृहमन्त्री रमेश लेखकको पहलकदमीमा सरकार र आन्दोलनरत यातायात व्यवसायीबीच गृह मन्त्रालयमा वार्ता जारी छ।
यसअघि गण्डकी सरकारले पनि व्यवसायीलाई वार्तामा आउन बारम्बार आह्वान गरेको थियो। तर, उनीहरू वार्तामा जान मानेनन्। सार्वजनिक यातायात व्यवसायीले आजदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन् व्यवसायी ग्यारेज तथा घरमा आफ्ना सवारीसाधन थन्क्याएर बसेका छन्। यातायात बन्दका कारण सर्वसाधारण मर्कामा परेका छन्।
सार्वजनिक यातायात बचाऊ केन्द्रीय संघर्ष समितिको आह्वानमा देशभरका उक्त गाडी बन्द गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ।
समितिले सार्वजनिक यातायातका साधन ग्यारेजमै थन्क्याएर विरोध गर्ने निर्णय गरेको थियो। गण्डकी प्रदेश सरकारले ‘राइड शेयरिङ’ का नाममा निजी प्रयोजनका निम्ति खरिद गरिएका सवारीसाधनलाई भाडाका सवारीसरह प्रयोग गर्न दिने गरी ल्याएको कानुन खारेज गर्नुपर्ने व्यवसायीको मुख्य माग छ।