काठमाडौं । नेपाल प्रहरीले तीनकुनेमा चैत १५ मा भएको प्रदर्शनको अनुसन्धान प्रतिवेदन सरकारलाई बुझाएको छ । उक्त दिन अवाञ्छित गतिविधि गरेको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित १ सय ८ जनालाई पक्राउ गर्नुपर्ने रायसहितको प्रतिवेदन बिहीबार प्रहरीले सरकारलाई बुझाएको हो । यस घटनाका दोषी दुर्गा प्रसाईँलाई ५ वटा मुद्दामा अभियोजन गर्न प्रहरीले राय दिएको छ । बिहीबार अनुसन्धान प्रतिवेदन बुझाउँदै प्रसाईंलाई राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, ज्यानसम्बन्धी कसुर, ज्यान मार्ने उद्योग र सङ्गठित अपराध मुद्दामा अभियोजन गर्न प्रहरीले राय दिएको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरालाई राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराधसम्बन्धी कसुरमा अभियोजन गर्नुपर्ने प्रहरीले राय दिएको छ ।
कुल १०८ जनालाई प्रतिवादी बनाउनुपर्ने राय सहितको अनुसन्धान प्रतिवेदन बुझाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ । प्रतिवादी बनाउनुपर्ने भनेर राय दिइएका मध्ये १८ जना फरार छन् । पक्राउ परेका र हाजिर जमानीमा छुटेका ९० जनालाई प्रतिवादी कायम गरिएको छ ।