काठमाडौं । राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित ५ जनाविरुद्ध ५ करोड ७९ लाख रुपैयाँको भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गर्दै, सरकारी रकम हिनामिना तथा गलत नियतका साथ भुक्तानी लिएको आरोप लगाएको हो।
आयोगका अनुसार आर्थिक वर्ष २०७५/७६ मा केन्द्रमार्फत विभिन्न उपकरण खरिद गर्दा ५ करोड ७९ लाख रुपैयाँ बराबरको आर्थिक बिगो पुगेको देखिएको छ। अनुसन्धानमा म्याक्स इन्टरनेशनल कम्पनीले भ्याट बाहेक २ करोड ६५ लाख र अर्को शीर्षकमा ३ करोड १४ लाख रुपैयाँ भुक्तानी पाएको पाइएको छ। आयोगका अनुसार लागत अनुमान नै मिलेमतोमा, स्वार्थ बाझिने गरी तयार पारिएको थियो। सम्झौताबमोजिमको काम सम्पन्न नभएको अवस्थामा समेत भुक्तानी दिइएको उल्लेख छ।
अख्तियारका अनुसार, मुद्दामा सुनिल पौडेलसँगै तत्कालीन सहायक निर्देशक रमेश पोखरेल, कम्प्युटर इन्जिनियर रामशरण गायक, लेखा अधिकृत निमबहादुर वली, म्याक्स इन्टरनेशनल प्रालि पुतलीसडक र त्यसका प्रमुख कार्यकारी अधिकृत अकवर हुसेनलाई प्रतिवादी बनाइएको छ।
प्रत्येक प्रतिवादीसँग पाँच करोड ७९ लाख बराबरकै बिगो दाबी गरिएको आयोगले जनाएको छ। उनीहरूलाई गैरकानुनी लाभ लिने, सरकार तथा सार्वजनिक संस्थालाई आर्थिक हानि पुर्याउने नियतले कार्य गरेको आरोपमा कारबाही प्रक्रिया अगाडि बढाइएको हो।