काठमाडौं । त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय ट्वान्टी–२० श्रृंखलाको आफ्नो चौंथो खेलमा नेपालले थाइल्याण्डको सामना गर्दैछ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मध्यान्ह सवा १२ बजे शुरु हुनेछ । यसअघि नेपालले नेदरल्याण्ड्ससँग २० र १५ रन तथा थाइल्याण्डसँग चार विकेटको हार व्यहोरेको थियो । आज जित्नै पर्ने दबाबसहित मैदान उत्रिनेछ । नेपालको कप्तानमा इन्दु बर्मा छन् भने थाइल्याण्डको कप्तानमा नारुमोल चाइवाइ छन् ।
पछिल्ला तीन वटै खेलमा पराजित भएको नेपालका लागि यस खेल जित्नैपर्ने दबाब रहनेछ । नेपाल यस खेलमा पराजित भएमा शृंखला जित्ने सम्भावना सकिनेछ । बिहीबार भएको पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको थियो शनिबार थाइल्याण्डसँग र आइतबार नेदरल्याण्ड्ससँग दोस्रो पटक पराजित भएको थियो ।
थाइल्याण्डले भने तीनवटै खेलहरू जितेको छ । यस खेल जितेमा थाइल्याण्ड शृंखला जित्ने बलियो अवस्थामा पुग्नेछ । महिला टी–२०आई वरियतामा थाइल्याण्ड १३औं स्थानमा छ भने नेपाल २०औं स्थानमा छ । थाइल्याण्ड महिला विश्वकप पनि खेलिसकेको टोली हो ।
शृंखलामा सबै टोलीले एक अर्कासँग ३–३ खेल खेल्ने छन् । नेपालले यसपछि माघ २३ मा नेदरल्याण्ड्स र माघ २५ मा थाइल्याण्डसँग खेल्ने छ । फाइनल नहुने भएकाले सबै खेल सकिँदासम्म धेरै खेल जितेर उच्च अंक हासिल गर्ने टिम श्रृंखलाको विजेता बन्ने प्रावधान छ ।
नेपालको टोलीमा इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, सीता रानामगर, पुजा महतो, अलिशा कुमारी यादव, बिन्दु रावल, सम्झना खड्का, कविता कुँवर, ममता चौधरी, कविता जोशी, रेवती धामी, रोमा थापा, राजमती ऐरी, मनिषा उपाध्याय र ईश्वरी विष्ट रहेका छन् ।