Logo

पहिरोले अरनिको राजमार्ग अवरुद्ध, पहिरोको जोखिम भएपछि च्याउपानीका ११ परिवारलाई अन्यत्र सारियो

पहिरोले अरनिको राजमार्ग अवरुद्ध, पहिरोको जोखिम भएपछि च्याउपानीका ११ परिवारलाई अन्यत्र सारियो



काभ्रेपलाञ्चोक । वर्षाका कारण पहिरो जाँदा अरनिको राजमार्गअन्तर्गत काभ्रेको पाँचखालस्थित ५० किलो भन्ने स्थानमा गए रातिदेखि सडक अवरुद्ध भएको छ । सडकमा लगातार पहिरो खसिरहेकाले पन्छाउन असहज भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।

laxmi

पाँचखाल नगरपालिका–८ स्थित उक्त सडकमा पहिरो खसेर करिब एक सय ५० मिटर सडक अवरुद्ध भएको हो । गए राति ९ बजेदेखि सडक अवरुद्ध हुँदा दुवैतर्फ सवारी रोकिएका छन् । साना सवारीलाई वैकल्पिक बाटोबाट पठाइएको प्रहरीले जनाएको छ । प्रवक्ता श्रेष्ठका अनुसार पहिरो खस्न केही कम भएकाले आज बिहानदेखि मेसिनद्वारा पहिरो पन्छाउन थालिने छ ।

पहिरोको जोखिम भएपछि च्याउपानीका ११ परिवारलाई अन्यत्र सारियो

भूकम्पका कारण जोखिममा रहेका जाजरकोटको भेरी नगरपालिका–१ च्याउपानीका स्थानीयवासीलाई सुरक्षित स्थानमा सारिएको छ । गत कात्तिक १७ गते रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पले सो स्थानलाई बस्न जोखिम बनाएको थियो । जिल्ला प्रहरी कार्यालय जाजरकोटको सहयोगमा सो गाउँका ११ परिवारलाई पहिरोबाट जोगाउन सुरक्षित ठाउँमा सारिएको हो ।

कार्यालयका प्रहरी सहायक निरीक्षक वीरबहादुर थापाले भेरी–१ च्याउपानीका पहिराको उच्च जोखिममा रहेका ११ घर परिवारलाई अन्यत्र सारिएको जानकारी दिए । तीमध्ये छ परिवारलाई भेरी–१ मेदेगाउँको खुला चौर र अन्यलाई आफन्तकहाँ तत्कालका लागि बस्ने व्यवस्था मिलाएको वडाध्यक्ष दीपक रानाले बताए । त्यस्तै चार दिनदेखि अवरुद्ध भएको लुम्बिनी– रारा राजमार्गअन्तरर्गत जाजरकोटकोटको भेरी–२ का विभिन्न ठाउँमा पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको छ । उक्त सडक खुलाउन पहल नभएको स्थानीयवासी पुष्प ओलीले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL