Logo

काठमाडौंमा जारी विश्व बैंकको कुम्भमेला सकियो, नेपाललाई के भयो फाइदा ?

काठमाडौंमा जारी विश्व बैंकको कुम्भमेला सकियो, नेपाललाई के भयो फाइदा ?



काठमाडौं । विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए–२१) को तेस्रो परिपूरण बैठक सकिएको छ । राजधानीस्थित होटल सोल्टी प्लाजामा चार दिनसम्म चलेको बैठकको अर्थमन्त्री वर्षमान पुन अनन्तले शुक्रबार समापन गरे । बैठकको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार उद्घाटन गरेका थिए । विश्व बैंक समूहले नेपालमा आयोजना गरेको यो हालसम्मकै ठूलो कार्यक्रम हो ।

laxmi

बैठकले न्यून आय भएका मुलुकका लागि आगामी वर्षहरुमा गर्ने सहयोगसम्बन्धी रणनीति तय गरेको छ । बैठकमा विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोटसनवर्गसहित आधा दर्जन बढी उपाध्यक्ष र निर्देशकहरु सहभागी थिए । यस्तै ६१ देशका करिब २ सय भन्दा बढी प्रतिनिधि बैठकमा लागि आएका थिए । उद्घाटनसत्र पछि तीन दिनसम्म बन्द सत्र चलेको थियो । बन्द शत्रमा आगामी ३ वर्षका लागि गरिब र न्यून आय भएका मुलुकका लागि प्रदान गरिने सहुलियतपूर्ण ऋण तथा अनुदान सहायताका प्राथमिकता क्षेत्र, नीति ढाँचा, नतिजा खाका र सो को लागि आवश्यक वित्तीय स्रोतको प्रतिवद्धता व्यक्त गर्ने सम्बन्धमा दातृ पक्ष, सहायता प्राप्त गर्ने देशका प्रतिनिधि र विश्व बैकका उच्च पदस्थ पदाधिकारीहरु बीच गहन छलफल भएको छ ।

आइडीए–२ बैठक आयोजना गर्न विभिन्न देशले प्रस्ताव पेस गरेका थिए । अन्तिममा ताजिकिस्तान र नेपालमध्येबाट विश्व बैंक सञ्चालक समितिले बैठकका लागि नेपाल रोजेको हो । विश्व बैंकको दक्षिण एसिया क्षेत्रमै यो स्तरको कार्यक्रम भएको पहिलो हो । बैठक व्यवस्थापनका लागि अर्थ मन्त्रालयले सचिव मधुकुमार मरासिनीको नेतृत्वमा आयोजक समिति र मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सह–सचिव श्रीकृष्ण नेपालको संयोजकत्वमा व्यवस्थापन तथा समन्वय समिति गठन गरेको थियो । विश्व बैंकले सन् १९६० मा आइडीएको स्थापना गरेको थियो ।

आइडीएले विकास साझेदारहरूको अन्तर्राष्ट्रिय गठबन्धनको अग्रणी भूमिका निर्वाह गर्दै आएको छ । यसका साथै यसले विकासका पछि परेका मुलुकहरुका लागि सहुलियतपूर्ण ऋण र अनुदान तथा बहुपक्षीय सहायता प्रदान गर्दछ । आइडीयले न्यून र मध्यम आय भएका विश्वका ७५ भन्दा बढी मुलुकमा सहायता उपलब्ध गराउँदै आएको छ । अर्थ मन्त्रालयले साझेदारहरूसँगको सहकार्यमा नेपालमा निर्माणाधीन विकास आयोजना, तिनीहरूका सकारात्मक पक्ष र चुनौतीबारे विश्व समुदाय अवगत गराउन तथा उक्त अनुभव संसारलाई बाँड्न बैठक महत्वपूर्ण भएको जनाएको छ ।

बैठकपछि विश्व बैंकमा उच्च अधिकारीहरूले काठमाडौं उपत्यका आसपास विश्व बैंकसहित विकास साझेदारका लगानीमा सञ्चालित शिक्षा, खानेपानी, पुनर्निमाण, उर्जा, जलवायुलगायतका क्षेत्रसँग सम्बन्धित विभिन्न ९ आयोजनाको स्थलगत भ्रमण गर्नेछन् ।

बैठकको आयोजनाबाट नेपालले अन्तर्राष्ट्रिय रुपमा चिनाउन, विकास अनुभव र सफल मोडलको जानकारी विश्व समुदायलाई दिनुका साथै नेपालका विकास प्राथमिकतालाई आईडीएको नीति प्राथमिकतासँग तादम्य गराउन अवसर मिलेको, अन्तर्राष्ट्रिय स्तरमा पहिचान बढेको, आगामी दिनमा अन्तर्राष्ट्रिय तथा क्षेत्रीयस्तरका ठूला कार्यक्रम सञ्चालन गर्न आत्मविश्वास बढेको तथा पर्यटन प्रवर्द्धन र अर्थतन्त्रमा समेत टेवा पुगेको विश्वास लिइएको अर्थ मन्त्रालयका प्रवक्ता सहसचिव उत्तरकुमार खत्रीले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL