Logo

भारतका राष्ट्रपति र विदेशमन्त्रीसँग प्रधानमन्त्री दाहालको शिष्टाचार भेट

भारतका राष्ट्रपति र विदेशमन्त्रीसँग प्रधानमन्त्री दाहालको शिष्टाचार भेट



काठमाडौँ । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गरेका छन् । नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा सोमबार प्रधानमन्त्री दाहालले राष्ट्रपति मुर्मुसँग भेट गरेका हुन् ।

laxmi

सो अवसरमा राष्ट्रपति मुर्मु र प्रधानमन्त्री दाहालबीच नेपाल–भारतबीच सदियौंदेखि रहीआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो । त्यसैगरी उनीबीच दुई देशबीचका जनतामाझको परम्परागत सम्बन्धलाई थप प्रगाढ तुल्याउने विषयमा छलफल भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री दाहाल आइतबार साँझ प्रधानमन्त्री मोदीको सपथ ग्रहण समारोहमा सहभागी भएका थिए । सपथ ग्रहणपछि प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी मोदीबीच भेटवार्ता भएको थियो । सो भेटमा प्रधानमन्त्रीले लगातार तेश्रो कार्यकालका लागि भारतको प्रधानमन्त्रीको पदभार ग्रहण गरेकोमा प्रधानमन्त्री मोदीलाई बधाइ दिँदै आगामी कार्यकालमा नेपाल र भारतबीचको सम्बन्ध थप उचाइँमा पुग्ने विश्वास व्यक्त गरेका थिए ।

आइतबार साँझ नै राष्ट्रपति मुर्मुले आयोजना गरेको रात्रीभोजमा प्रधानमन्त्री दाहाल सहभागी भएका थिए । आइतबार बिहान दिल्ली गएको प्रधानमन्त्री दाहाल नेतृत्वको प्रतिनिधिमण्डल सोमबार साँझ काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री प्रचण्ड र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय विदेशमन्त्री एस जयशंकरबीच शिष्टाचार भेटवार्ता भएको छ । विदेशमन्त्री जयशंकरले भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डसँग सोमबार नयाँ दिल्लीमा भेटवार्ता गरेका हुन् ।

भेटवार्ताको क्रममा दुवै देशका अधिकारीहरूसमेत सहभागी थिए। सो क्रममा दुई देशको आपसी हितका विषयमा छलफल भएको बताइएको छ। भारतका निवर्तमान विदेशमन्त्री रहेका जयशंकरले मोदी नेतृत्वको सरकारमा हिजो शपथग्रहण गरेका हुन्। उनले नेतृत्व गर्ने मन्त्रालय भने टुंगिन बाँकी छ ।

लामो समय भारतीय कूटनीतिज्ञ रहेका जयशंकर गत ३० मे २०१९ देखि केही दिनअघिसम्म विदेशमन्त्री थिए । सो अवसरमा दुवै देशका उच्च प्रतिनिधि मण्डलको सहभागिता रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL