Logo

गण्डकीका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिँदै, कस्तो छ अंकगणित ?

गण्डकीका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिँदै, कस्तो छ अंकगणित ?



काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज (सोमबार) प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् । विश्वासको मत प्रयोजनका लागि दिउँसो ३ बजे प्रदेशसभा बैठक बस्दैछ ।

laxmi

नेपाली कांग्रेस गण्डकी प्रदेशका संसदीय दलका नेतासमेत रहेका पाण्डे सर्वोच्च अदालतको परमादेश अनुसार नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको नेताको हैसियतमा जेठ १६ गते मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।

६० सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका २७, एमालेका २२, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सात (सभामुख बाहेक), राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र एक स्वतन्त्र सदस्य छन् । विश्वासको मत पाउन मुख्यमन्त्री पाण्डेलाई प्रदेशसभाका ३१ सदस्यको समर्थन चाहिन्छ । तर, आइतबार रातिसम्म उनले विश्वासको मत पाउने आधार देखिएको छैन ।

पाण्डेले विश्वासको मत नपाए संविधानको धारा १६८ को उपधारा (५) अनुसार नयाँ सरकार गठनको बाटो खुला हुनेछ । ६० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ३१ मत चाहिन्छ । तर, अंकगणित भने सरकारको अनुकूल छैन । प्रदेश सभामा सबैभन्दा ठूलो दल रहेको कांग्रेससँग २७ मत मात्र छ । कांग्रेसले दुई सिटको राप्रपा र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) लाई आफ्नो पोल्टामा पारे पनि उससँग बहुमत पुग्दैन । पाण्डेलाई बहुमत पुर्‍याउन एमाले वा माओवादीको सहयोग चाहिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL