Logo

उपयोगविहिन बन्दै भन्सार कार्यालय : १२ कार्यालयबाट हुँदैन आयात-निर्यात, सरकारको अनावश्यक खर्च बढ्दै

उपयोगविहिन बन्दै भन्सार कार्यालय : १२ कार्यालयबाट हुँदैन आयात-निर्यात, सरकारको अनावश्यक खर्च बढ्दै



काठमाडौं । वैदेशिक व्यापार र आवतजावत सहजीकरण गर्न भन्दै संचालनमा ल्याइएका धेरैजसो भन्सार कार्यालयहरु उपयोगविहिन बनेका छन् । नेपालले बर्षेनी गर्ने खर्बौं रुपैयाँ बराबरको व्यापारमा कतिपय भन्सार कार्यालयहरुको भस्मिका शून्य रहेको छ । भन्सार विभागको तथ्यांकलाई आधार मान्दा नेपालमा चीन र भारत वस्तु र मानिस ओहोरदोहोर गर्न ४१ ओटा भन्सार कार्यालयहरु छन् । तीमध्ये व्यापार हुने भन्सार कार्यालयहरु जम्मा २९ मात्रै छन् । बाँकी रहेका १२ भन्सार कार्यालयबाट चालु आर्थिक बर्षको पछिल्लो १० महिनामा आयात–निर्यात वा कुनैपनि व्यापार भएको छैन् ।

laxmi

वैदेशिक व्यापारमा उपयोग भइरहेका २९ भन्सार कार्यालयहरुमध्ये ११ भन्सार कार्यालयबाट चालु आवको १० महिनामा निर्यात शून्य छ । नेपालले बर्षेनी १४ देखि १६ खर्ब बराबरको वस्तु विभिन्न भन्सार कार्यालयहरुबाट आयात गर्ने गरेको छ । तर, उत्पादन न्यून भएकै कारण निर्यात भने सबै भन्सार कार्यालयबाट हुँदैन । तसर्थ नेपालले प्रतिबर्ष दशौं खर्ब बढी व्यापारघाटा व्यहोर्दै आएको छ । जसको एक कारण छरिएर रहेका भन्सार कार्यालयहरु पनि रहेको विज्ञहरु बताउँछन् । वस्तु आयातका लागि कुनै निश्चित भन्सारबाट सहजीकरण गरिनुपर्छ । अझ नेपालजस्तो सानो देशका लागि धेरै भन्सार कार्यालयहरु आवश्यक नै नहुने एक अर्थविद्ले बताए । ‘नेपालजस्तो सानो देश त्यसमाथि प्रतिबर्ष खर्बौ रुपैयाँ बराबरको वस्तु मात्रै आयात गर्ने देशलाई धेरै भन्सार आवश्यक नै हुँदैन,’ उनले भने, ‘निश्चित भन्सारहरु तोकेर त्यही भन्सारबाट मात्रै वस्तु आयात गर्ने गरिए वस्तु आयात पनि केहि खुम्चिन्छ र चोरी पैठारी र निकासी पनि न्यूनीकरण हुन्छ ।’

खासगरी नेपालमा पछिल्लो समय राजस्व आम्दानीले चालु खर्चसमेत धान्न नसकिने अवस्था आएको छ । अझ त्यसैमाथि धेरै तर बेकामका भन्सार कार्यालयहरु त्यसले देशको खर्च बढाउने मात्रै काम गर्ने उनी बताउँछन् । प्रत्येक भन्सार कार्यालयमा कम्तिमा १२ जना कर्मचारीको दरबन्दी हुन्छ, अझ ठुला र धेरै व्यापार हुने भन्सारमा कर्मचारीको संख्या अझै धेरै हुन्छ । एउटा भन्सारमा औसतमा २५ जना कर्मचारीमात्रै नियुक्त गर्नुपर्छ । त्यतिमात्रै होइन ति कार्यालयहरुलाई संचालन गर्नका लागि मात्रै प्रतिबर्ष करोडौं रुपैयाँ राज्यको खेर जान्छ । तर, तीमध्ये धेरै कार्यालयबाट भन्सारको काम हुँदैन ।

व्यापारै नभएका १२ भन्सार कार्यालयहरु

भन्सार विभागको तथ्यांकलाई केलाउँदा नेपालमा रहेका ४१ भन्सार कार्यालयहरुमध्ये १२ भन्सार कार्यालयहरुबाट व्यापार नै नभएको पाइएको छ । जसमा ओलाङचुङगोला भन्सार कार्यालय ताप्लेजुङ, किमाथांका भन्सार कार्यालय संखुवासभा, लामाबगर भन्सार कार्यालय दोलखा तथा भन्सार जाँचपास परीक्षण कार्यालय काठमाडौं रहेका छन् ।

यस्तै हालसम्म संचालनमा आउन नसकेका र शून्य व्यापार हुने अन्य भन्सार कार्यालयहरुमा क्रमशः लार्के भन्सार कार्यालय गोरखा, मुस्ताङ भन्सार कार्यालय मुस्ताङ, कोइलाबास भन्सार कार्यालय दाङ, राजापुर भन्सार कार्यालय बर्दिया, यारिनाका भन्सार कार्यालय हुम्ला, मुगु भन्सार कार्यालय मुगु, दार्चुला भन्सार कार्यालय दार्चुला र महाकाली भन्सार कार्यालय बैतडी रहेका छन् । भन्सार विभागका अनुसार चालु आर्थिक बर्षभर यी भन्सारबाट व्यापार शून्य छ । यीमध्ये धेरैजसो भन्सार कार्यालयहरु तोकिएपनि कतिपय कार्यालयहरु संचालनमै आइसकेका छैनन् । केहीमा भने कर्मचारीहरु त छन् तर काम हुँदैन ।

११ भन्सार कार्यालयबाट निर्यात शून्य

हाल व्यापार भइरहेका २९ भन्सार कार्यालयहरुमध्ये नेपालका ११ भन्सार कार्यालयहरुबाट निर्यात नभएको पाइएको छ । जसमा भद्रपुर भन्सार कार्यालय, चोभार भन्सार कार्यालय, गौतम बुद्ध विमानस्थल भन्सार कार्यालय तथा जनकपुर भन्सार कार्यालयहरु छन् । पछिल्लो १० महिनामा यी भन्सार कार्यालयहरुबाट क्रमशः ७९ करोड ८१ लाख, ८२ करोड ८६ लाख, ८ लाख ८४ हजार र १ अर्ब २६ करोड रुपैयाँ बराबरको आयातको व्यापार भएको छ ।

यता शुन्य निर्यातको व्यापार गर्ने अन्य भन्सार कार्यालयहरुमा महेशपुर भन्सार कार्यालय, पोखरा भन्सार कार्यालय, राजविराज भन्सार कार्यालय, सिराहा भन्सार कार्यालय, सुनसरी भन्सार कार्यालय, ठाडी भन्सार कार्यालय र त्रिवेणी भन्सार कार्यालय छन् । यी कार्यालयहरुबाट पछिल्लो १० महिनामा करोड बढीको आयात व्यापार भएको छ । निर्यात व्यापार शून्य रहेका यी १० भन्सार कार्यालयहरुबाट आयात भने पछिल्लो १० महिनामा कुल ५ अर्ब ६७ करोड रुपैयाँभन्दा बढी भएको पाईएको छ ।

दर्जन भन्सार कार्यालयबाट आयात १० करोडभन्दा कम

यता विभिन्न १२ भन्सार कार्यालयहरुबाट भने आयात नै १० करोड रुपैयाँभन्दा तलै रहेको पाईएको छ । भन्सार विभागको तथ्यांकलाई आधार मान्दा गौर भन्सार कार्यालय, चोभार भन्सार कार्यालय, भद्रपुर भन्सार कार्यालय, सती भन्सार कार्यालय, महेशपुर भन्सार कार्यालय, राजविराज भन्सार कार्यालय र पोखरा भन्सार कार्यालयबाट १० करोड तलकै आयात व्यापार हुने गरेको पाईएको छ । तयस्तै सिराहा, ठाडी, गौतम बुद्ध एयरपोर्ट, पशुपतिनगर र त्रिवेणी भन्सार कार्यालयहरुबाट पनि १० करोड रुपैयाँभन्दा तलको व्यापार हुने गरेको देखिन्छ ।

यी सबै भन्सार कार्यालयहरुबाट पछिल्लो १० महिनामा भएको आयातको व्यापार हेर्दा जम्मा ४ अर्ब २३ करोड रुपैयाँ बराबरको मात्रै भएको पाइएको छ । माथिका भन्सार कार्यालयहरुमध्ये गौतमबुद्ध विमानस्थल, पशुपतिनगर र त्रिवेणी भन्सार कार्यालयहरुबाट जम्मा क्रमशः ८ लाख ८४ हजार, ८ लाख ३१ हजार र ३ लाख ८१ हजार रुपैयाँ बराबरको मात्रै वस्तु आयात भएको छ । न्यून आयात व्यापार गर्ने १२ भन्सार कार्यालयहरुमध्ये गौर, सती र पशुपतिनगर भन्सार कार्यालयबाट केहि मात्रामा निर्यातको व्यापार पनि भएको देखिन्छ ।

यद्यपि नेपालका प्रमुख भन्सार कार्यालयहरुमध्ये वीरगंज, भैरहवा, सुक्खा बन्दरगार, विराटनगर र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भन्सार कार्यालयहरु भने नेपालका प्रमुख भन्सार नाका हुन् । यी ५ नाकाहरुबाट मात्रै चालु आवको १० महिनामा १० खर्ब ७२ अर्ब रुपैयाँ बराबरको वस्तु आयात र ९४ अर्ब ६८ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको देखिन्छ । यी नाकाहरुबाट पछिल्लो १० महिनामा १ खर्ब बढीको वस्तु आयात भएको छ ।

यस्तै धेरै आयात निर्यात गर्ने भन्सार कार्यालयहरुमा नेपालगंज भन्सार कार्यालय, रसुवा भन्सार कार्यालय, मेची भन्सार कार्यालय, तातोपानी भन्सार कार्यालय, कैलाली भन्सार कार्यालयलगायत रहेका छन् । यद्यपी नेपालको कुल व्यापारको झण्डै ९० प्रतिशत हिस्सा ओगटेका करिव ८ भन्सार कार्यालयहरु हुँदाहुँदै अन्य भन्सार कार्यालयहरु खर्च बढाउने कार्यालयको रुपमा रहने विज्ञहरु बताउँछन् ।

तर, दोस्रो मुलुकसँगको सम्बन्ध विस्तारसँगै अवैध व्यापारको न्यूनीकरण र सरकारको उपस्थिति जनाउन भएपनि केहि स्थानमा भन्सार कार्यालयहरु आवश्यक हुने भन्सार विभागका निर्देशक पुण्यविक्रम खड्का बताउँछन् । ‘केही स्थानमा राज्यको उपस्थिति दर्शाउन र केहि स्थानमा अवैध व्यापार न्यूनीकरणका लागि पनि भन्सार कार्यालयहरु आवश्यक हुन्छन्,’ उनले भने, ‘अझ केहि स्थानमा दुई मुलुकबीचका सवारीसाधन र नागरिकहरुको आवतजावतलाई सहजीकरण गर्नका लागि पनि यस्ता कार्यालयहरु आवश्यक हुने हाम्रो बुझाई छ ।’ उनले केही कार्यालयहरुबाट वस्तु आयात निर्यात शून्य हुनेभएपनि नागरिक आवतजावतमात्रै पनि हुने गरेको बताए । हाल नेपालमा ४१ ओटा भन्सार कार्यालयहरु र तिनिहरुका १ सय ३३ छोटी भन्सार कार्यालयहरु छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL