Logo

रोकिएन अवैध चोरी पैठारी, १५ लाख मूल्य बराबरको अवैध सामान बरामद

रोकिएन अवैध चोरी पैठारी, १५ लाख मूल्य बराबरको अवैध सामान बरामद



काठमाडौं । नेपाल प्रहरीले भारतबाट अवैधरुपमा भित्रिएका लाखौँ मूल्यका मालसामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी कृष्णकुमार चन्दका अनुसार तीन दिनमा १४ लाख ९७ हजार चार सय मूल्य बराबरको सामान बरामद गरेको हो । बरामद गरिएका सामान प्रहरीले मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाएको छ । आज बिहान ४ बजेको समयमा मेचीनगर नगरपालिका(७ सतिघट्टास्थित सीमा क्षेत्रमा भन्सार छलेर भित्रिएको रु ६५ हजार मूल्य बराबरको जुत्ताचप्पल प्रहरीले बरामद गरेको थियो ।

laxmi

खुला सीमा भएकाले झिसमिसेमै अवैध व्यापारीका समूहले बोरामा बोकेर ती सामान नेपालतर्फ ल्याउँदै गर्दा प्रहरी चौकी सतिघट्टाका प्रहरी सहायक निरीक्षक छत्रलाल श्रेष्ठको टोलीले सामान बरामद गरेको हो । इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट प्रहरी नायब निरीक्षक रमेश श्रेष्ठको नेतृत्वमा खटिएको प्रहरी टोलीले बिहीबार मेचीनगरकै वडा नं ६ हनुमान मन्दिर छेउबाट १ लाख ४२ हजार चार सय मूल्य बराबरको लत्ताकपडा बरामद गरेको थियो । भन्सार छलेर भित्र्याइएका ती सामानमा महिलाको लेहेङ्गालगायतका कपडा थिए ।

सीमाका सशस्त्र प्रहरी बलको टोलीले समेत बिहीबार अवैधरुपमा भित्रिएका लत्ताकपडा बरामद गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी चन्दका अनुसार सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट तिरिङले मेचीनगर–१ स्थित सीमा नजिकबाट १० लाख मूल्य बराबरका लत्ताकपडा बरामद गरेको थियो ।

सशस्त्र प्रहरी बलको काँकडभिट्टा गुल्मबाट खटिएको टोलीले मेचीनगर–७ धनकुटे बस्तीमा परालको कुन्यूमा लुकाइछिपाइ राखिएको अवस्थामा २९ कार्टुन लाइटर बरामद गरेको थियो । सूचना अधिकारी चन्दका अनुसार ती लाइटरको मूल्य रु दुई लाख ९० हजार रहेको छ । प्रहरीले पछिल्लो समय सीमा क्षेत्रमा अवैध कारोबारलाई कडाइका साथ नियन्त्रण गरिरहेको जनाएको छ । बरामद सामान मेची भन्सार कार्यालय काँकडभिट्टामा प्रहरीले बुझाएको छ ।रासस

प्रतिक्रिया दिनुहोस्
MBL