Logo

तोकिएको चुक्तापुँजी पुर्याउन प्राधिकरणको ताकेता, १० बीमा कम्पनीले असारसम्म ५ अर्ब र ८ ले साढे २ अर्ब पुर्याउनुपर्ने

तोकिएको चुक्तापुँजी पुर्याउन प्राधिकरणको ताकेता, १० बीमा कम्पनीले असारसम्म ५ अर्ब र ८ ले साढे २ अर्ब पुर्याउनुपर्ने



काठमाडौं । नेपाल बीमा प्राधिकरणले तोकिएको चुक्ता पुँजी नपुर्याएका १८ जीवन र निर्जीवन बीमा कम्पनीहरुलाई असार मसान्तसम्म चुक्ता पुँजी पुर्याउन निर्देशन दिएको छ । यसअघि २०७८ फागुन अन्तिममा तत्कालीन बीमा समितिले निर्जीवन बीमा कम्पनीहरुलाई साढे २ अर्ब र जीवन बीमा कम्पनीहरुलाई ५ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन निर्देशन दिएको थियो । उक्त अवधिमा १ बर्षको समयावधि दिएर गरिएको यस्तो निर्देशन केही कम्पनीले मानेपनि अधिक कम्पनीहरुले हालसम्म पनि प्राधिकरणको निर्देशनलाई अटेर गरिरहेको अवस्था छ ।

laxmi

प्राधिकरणले २०७८ फागुनमा दिएको उक्त निर्देशन पालना गर्दै विभिन्न २१ कम्पनीहरुले चुक्ता पुँजी पुर्याउनकै लागि भन्दै मर्जरमा जाने निर्णय गरी मर्ज गरेका थिए । मर्जरमा गएका २१ कम्पनीहरु मर्ज भएर हाल १० कम्पनीमा परिणत हुँदा पनि जीवन बीमातर्फका ३ र निर्जीवन बीमातर्फका ४ कम्पनीहरुले मात्रै तोकिएको चुक्ता पुँजी पुर्याउन सकेका छन् । प्राधिकरणका अनुसार हालसम्म चुक्ता पुँजी नपुर्याएका कम्पनीहरुलाई आगामी असार मसान्तसम्म जसरी पनि चुक्ता पुँजी पुर्याउन निर्देशन दिईएको हो ।

यसपटक बीमा कम्पनीहरुको पुँजी कोष पनि ठूलो भएकाले तोकिएको चुक्ता पुँजी पुर्याउने विश्वासले यस्तो निर्देशन दिईएको प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । ‘खासगरी हामीले तोकेको चुक्तापुँजी वहाँहरुले पुर्याउनका लागि सहज होस भन्दै हामीले बोनस सेयर जारी गर्न, हकप्रद जारी गर्न र मर्जरमा जान सहजीकरणसँगै बाटो खोलिदिएका छौं,’ उनले भने, ‘अझ त्यसमाथि यसपटक सबैजसो कम्पनीहरुको पुँजी कोष पनि बढेको हुनाले सायद सबैजसो कम्पनीको तोकिएको चुक्ता पुँजी पुग्नेछ ।’

केही बीमा कम्पनीहरुको मर्जर गर्दा तथा बोनस सेयर वितरण गर्दा पनि पुँजी नपुग्ने भएपछि हाल धेरैजसो कम्पनीहरुले हकप्रदको बाटो रोजेका छन् । ३० प्रतिशतसम्म पुँजी नपुग्ने कम्पनीलाई भने यसअघि नै बिमा प्राधिकरणले हकप्रद सेयरको बाटो खुला गरिदिएको छ । सोही अनुसार केही कम्पनीले हकप्रद सेयर निष्कासन गर्न लागेका हुन् । हाल बीमा प्राधिकरणको पुनः निर्देशनसँगै जीवन बीमातर्फ तोकिएको चुक्ता पुँजी पुर्याउनेमा नेपाल लाइफ इन्स्योरेन्स, हिमालयन लाईफ इन्स्योरेन्स र नेशनल लाईफ इन्स्योरेन्स मात्रै छन् । यी कम्पनीहरुको चालु आवको दोस्रो त्रैमाससम्म क्रमशः ८ अर्ब २० करोड, ८ अर्ब २ करोड र ५ अर्ब रुपैयाँ छ ।

यीबाहेक सुर्यज्योति लाईफ, प्रभु महालक्ष्मी, सानिमा रिलायन्स, आइएमई लाईफ, रिलायबल नेपाल लाईफ, सिटीजन लाईफ, सन नेपाल, एशियन लाईफ, लाईफ इन्स्योरेन्स कर्पाेरेशन र राष्ट्रिय जीवन बीमा कम्पनीले हालसम्म प्राधिकरणले तोकेको चुक्तापुँजी पुर्याउन सकेका छैनन् ।

तर, यीमध्ये हालसम्म लाइफ इन्स्योरेन्स कर्पाेरेशनले ८८ प्रतिशत हकप्रद जारी गर्नका लागि नेपाल धितोपत्र बोर्डसमक्ष अनुमति मागेको छ । यो कम्पनीको हालको चुक्तापुँजी २ अर्ब ६५ करोड रुपैयाँ छ । ८८.४५ प्रतिशत हकप्रद सेयर जारी गरेमा कम्पनीको चुक्ता पुँजी प्राधिकरणले तोकेअनुसार ५ अर्ब माथि पुग्नेछ । यस्तै हालसम्म सन नेपाल र एशियन लाईफले पनि क्रमशः २७ र ४२ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेका छन् । जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा कम चुक्तापुँजी हालसम्म राष्ट्रिय जीवन बीमा कम्पनीको छ । यो कम्पनीको चालु आवको दोस्रो त्रैमाससम्म जम्मा १ अर्ब ८१ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ । अन्य कम्पनीहरुको भने २ अर्बमाथि नै चुक्ता पुँजी रहेको देखिन्छ ।

चुक्ता पुँजी नपुर्याएका जीवन बीमा कम्पनीमध्ये सुर्यज्योति, प्रभु, सानिमा, आइएमई र रिलायबल नेपाल लाईफको चुक्तापुँजी ४ अर्ब माथि छ । यता सिटिजन, सन नेपाल लाईफ र एशियन लाईफको चुक्ता पुँजी ३ अर्ब माथि र लाईफ इन्स्योरेन्स कर्पाेरेशनको २ अर्ब माथि छ । निर्जीवन बीमातर्फ भने आइजीआई प्रुडेन्सीयल, सिद्धार्थ प्रिमियम, शिखर र सगरमाथा लुम्बिनी इन्स्योरेन्सको चुक्ता पुँजी प्राधिकरणले तोकेअनुसार साढे २ अर्ब माथि पुगिसकेको छ । यी कम्पनीहरुको हालको चुक्तापुँजी क्रमशः ३ अर्ब २ करोड, २ अर्ब ८० करोड, २ अर्ब ६५ करोड र २ अर्ब ६२ करोड रुपैयाँ छ ।

अब बाँकी रहेका ८ कम्पनीले भने यस्तो चुक्तापँुजी साढे २ अर्बमाथि पुर्याउन बाँकी छ । जसमध्ये हिमालयन इन्स्योरेन्सले २५ प्रतिशत र एनएलजी इन्स्योरेन्सले ६६ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेका छन् । बाँकी रहेका कम्पनीहरुले भने हालसम्म कुनै योजना पेश गरिसकेका छैनन् ।

निर्जीवन बीमा कम्पनीहरुमध्ये हिमालयन एभरेष्ट, नेको र सानिमा जिआइसी इन्स्योरेन्सको चुक्तापुँजी हालसम्म २ अर्बमाथि भएपनि प्राधिकरणले तोकेबमोजिम साढे २ अर्ब भने पुग्दैन । बाँकी रहेका युनाईटेड अजोड, नेपाल, एनएलजी र प्रभु इन्स्योरेन्सको चुक्तापुँजी १ अर्ब देखि १ अर्ब ९० करोडको बीचमा छ । निर्जीवन बीमातर्फ पनि सरकारी लगानीको राष्ट्रिय बीमा कम्पनीको चुक्तापुँजी सबैको भन्दा कम २६ करोड ६६ लाख रुपैयाँ मात्रै छ । विसं २०७८ फागुन अघि नेपालमा संचालित जीवन बीमा कम्पनीको २ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीको १ अर्ब रुपैयाँ चुक्तापुँजी हुनुपर्ने प्रावधान थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL