Logo

तथ्यांक अवास्तविक हुँदा दूरसंचार क्षेत्रमा गलत सन्देश, सात महिनादेखि रोकियो प्राधिकरणको ‘एमआइएस’

तथ्यांक अवास्तविक हुँदा दूरसंचार क्षेत्रमा गलत सन्देश, सात महिनादेखि रोकियो प्राधिकरणको ‘एमआइएस’



काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले पछिल्लो ७ महिनादेखि तथ्यांक प्रकाशन रोकेको छ । नेपालमा दूरसंचार क्षेत्रको नियामकय निकायका रुपमा रहेको प्राधिकरणले आफैले प्रकाशन गर्ने गरेको तथ्यांकमा आफै विश्वस्त हुन नसक्दा गत बर्ष असोजदेखि नै मासिक रुपमा प्रकाशन गरिने म्यानेज्ड इन्फरमेशन सिस्टम (एमआइएस) प्रतिवेदन नै रोकिराखेको हो ।

laxmi

प्रत्येक महिना सार्वजनिक गर्नुपर्ने भएपनि असोजअघिसम्म पनि तथ्यांक ३ देखि ४ महिना पछिमात्रै प्रकाशन गर्ने गरेको प्राधिकरणले यस्तो तथ्यांक पछिल्लो समय भने पूर्ण रुपमा प्रकाशन रोकेको हो । नेपालमा दूरसंचार क्षेत्रको अवस्था, सेवाग्राही संख्या, सेवाप्रदायक संख्यालगायतको जानकारी लिन ७ महिना अघिको तथ्यांकलाई मात्रै आधार मान्नुपर्ने अवस्था सिर्जना भएको छ । खासगरी प्राधिकरणमा नयाँ नेतृत्व आएसँगै यस्तो तथ्यांक प्रकाशन हाल रोकिएको प्राधिकरणका अधिकारीहरु बताउँछन् ।

प्राधिकरणमा गत फागुन ६ गते नियुक्त भएका नयाँ अध्यक्ष भूपेन्द्र भण्डारीलअब प्राधिकरणले सार्वजनिक गर्ने तथ्यांक वास्तविक हुनुपर्ने बताएपछि प्रकाशन रोकिएको प्राधिकरण सम्बद्दको दाबी छ । पछिल्लो समय यकिन तथ्यांक सार्वजनिक गर्नकै लागि भन्दै प्राधिकरणले नयाँ तथ्यांक अध्ययन गर्न एक समिति नै गठन गर्ने प्रक्रिया अघि बढाएको प्राधिकरणका सहप्रवक्ता प्रदिप पौड्याल बताउँछन् । ‘अध्यक्षज्यूले नै अब यसरी डेब्रिस तथ्यांक सार्वजनिक गरेर हुँदैन भनेपछि हामीले हालसम्म गर्दै आएको मोडलअनुसारको तथ्यांक सार्वजनिक रोकेका हौं,’ उनले भने, ‘अब नयाँ तथ्यांक आउँदा यकिन र वास्तविक तथ्यांक ल्याउने गरी कामको प्रक्रिया अघि बढेको छ ।’

हालसम्म प्रकाशित प्राधिकरणको तथ्यांकले देशभर न्यूनतम ब्रोडब्याण्ड इन्टरनेट र भ्वाइस सेवाको विस्तार शतप्रतिशतसम्म भइसकेको देखाउँछ तर, यसको वास्तविकता र गुणस्तरका बारेमा अझै यकिन हुन सकिने ठाउँ भने छैन् । ब्रोडब्याण्ड विस्तार भएको भनिएको स्थानमै भ्वाइस टेलिफोन सेवा संचालनमै अवरोध रहेका छन् । अझ नेपाल टेलिकम र एनसेलले हालसम्म विस्तार गरिसकेको भनिएको फोरजी सेवाको तथ्यांकमा पनि यकिन हुन नसकिने प्राधिकरणका अधिकारीहरु बताउँछन् ।

यसअघि सेवाप्रदायकले प्रत्येक महिनाको ग्राहकको संख्या, थपिएका ग्राहक, वितरण गरिएको सेवालगायतको तथ्यांक प्राधिकरणलाई दिँदै आएका थिए । प्राकिरणले सोही तथ्यांकलाई यकिन मानि सश्ंलेषित तथ्यांक सार्वजनिक गर्ने गरेको थियो । प्राधिकरणले यसरी गत असोजमा सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा कुल भ्वाईस सेवा लिएका सेवाग्राहीको संख्या ३ करोड ४७ लाख ३१ हजार बढी छ । यो संख्या नेपालको जनसंख्याभन्दा पनि बढी हो । नेपालको जनसंख्या २ करोड ९५ लाख हाराहारी छ ।

यता ब्रोडब्याण्ड इन्टरनेटको पहुँचमा भएको संख्या पनि करिव ३ करोड छ । यिनै तथ्यांकलाई थप वास्तविक र सत्यमा आधारित बनाउनकै लागि प्राधिकरणले हाल नयाँ तथ्यांक प्रणालीको निर्माण गर्न लागेको हो । ‘विश्वका जुनसुकै स्थानबाट नेपालको दूरसंचार क्षेत्रको तथ्यांक हेर्न प्राधिकरणको साइट हेर्नुपर्छ । तर, यहाँ भएको तथ्यांक भद्रगोल छ यसले दूरसंचारको बजारमा गलत सन्देश जान्छ,’ प्राधिकरणका अध्यक्ष भण्डारीले एक सार्वजनिक कार्यक्रममा भनेका थिए । उनले आफु प्राधिकरणमा नियुक्त भएसँगै सबैभन्दा पहिले प्राधिकरणबाट प्रकाशित हुने तथ्यांकलाई यथार्थपरक बनाउनुपर्नेमा जोड दिँदै आएका छन् ।

तथ्यांक प्रकाशन व्यवस्थित गर्नकै लागि भन्दै प्राधिकरणले कर्मचारीहरुमध्येबाटै एक सर्भे कमिटी गठन गरेर देशभरको दूरसंचार क्षेत्रको तथ्यांक संकलनको काम गर्ने निर्णय गरिसकेको छ । हाल प्राधिकरणमा कर्मचारीको कमीका कारण समिति गठन भने हुन सकेको छैन । तर, चाँडै यस्तो समिति गठन गरी देशभरको तथ्यांक संकलन गरी वास्तविक तथ्यांक मात्रै सार्वजनिक हुने सहायक प्रवक्ता प्रदीप पौड्याल बताउँछन् । ‘अध्यक्षज्यूले कित व्यवस्थित तथ्यांक सार्वजनिक गर्नुपर्ने नत्र तथ्यांक नै सार्वजनिक नगर्नु भन्नुभएको छ,’ उनले भने, ‘अब प्रकाशित हुने वास्तविकतामा आधारित, तथ्यपरक र अझै व्यवस्थित हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्
MBL