Logo

वीरगञ्ज महानगरद्वारा ३६ करोड राजस्व सङ्कलन, गत बर्षभन्दा ३ करोडले बढ्यो

वीरगञ्ज महानगरद्वारा ३६ करोड राजस्व सङ्कलन, गत बर्षभन्दा ३ करोडले बढ्यो



काठमाडौं । वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्षको नौ महिनामा ३६ करोड ७६ लाख ९ हजार तीन सय ९८ रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

laxmi

महानगरका अनुसार चालु आवमा सम्पत्ति कर शीर्षकमा १२ करोड ७० लाख ४३ हजार सात सय ८२ रुपैयाँ सङ्कलन भएको छ । महानगरले दोस्रो धेरै घरबहाल करबाट ४ करोड ५५ लाख ७५ हजार आठ सय ६७ रुपैयाँ रहेको छ । महानगरले २४ वटा शीर्षकमा राजस्व सङ्कलन गर्दै आएको छ ।

वीरगञ्ज महानगरपालिका राजस्व महाशाखा प्रमुख मनोज कर्णले महानगरले गत आवको नौ महिनाको तुलनामा चालु आवमा २ करोड ९५ लाख बढी राजस्व सङ्कलन गरेको बताए । ‘गत आवको नौ महिनाको तुलनामा यो आवमा राजस्व सङ्कलनमा सुधार देखिएको छ’, उनले भने । गत आवको नौ महिनामा भने रु ३३ करोड ८० लाख ५४ हजार तीन सय ६० राजस्व सङ्कलन भएको थियो ।

वीरगञ्ज महानगरले गत आवभरिमा भने ५७ करोड एक लाख ७३ हजार दुई सय एक रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । त्यसैगरी महानगरले आव २०७८/७९ मा भने ५१ करोड २२ लाख २४ हजार चार सय ९० राजस्व सङ्कलन गर्यो ।

वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले वीरगञ्जमा आयोजित सार्वजनिक कार्यक्रममा वीरगञ्जका ठूला उद्योगी व्यवसायीलाई घरबहाल कर स्थानीय सरकारलाई बुझाउन अनुरोध गरेका थिए । ‘नेपालको संविधानमा नै घरबहाल कर स्थानीय तहले सङ्कलन गर्ने भनिएको छ’, उनले भने, ‘ठूला उद्योगले घरबहाल कर आन्तरिक राजस्व कार्यालयमा कर तिर्दा स्थानीय सरकारको राजस्वमा केही कमी आएको छ । त्यसैले घरबहाल कर स्थानीय सरकारलाई बुझाउन अनुरोध गर्दछु ।’

महानगरले चालु आव २०८०/८१ को लागि ३ अर्ब २१ करोड ३५ लाख ४४ हजार बजेट विनियोजन गरेको थियो । विनियोजित बजेटमध्ये चालुतर्फ रु दुई अर्ब ४८ करोड ८५ लाख पाँच हजार र पुँजीगततर्फ रु ६८ करोड ८७ लाख १५ हजार छुट्याइएको थियो । महागरले बजेट तथा नीति कार्यक्रममा चालु आवमा आन्तरिक राजस्वबाट रु एक अर्ब २० करोड ४४ लाख ३० हजार सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्
MBL