Logo

विद्युत उत्पादन घट्दा तनावमा कुलमान : उद्योगमा अघोषित लोडसेडिङ, घरायासी ग्राहकले पनि लोडसेडिङ बेहोर्नुपर्ला ?

विद्युत उत्पादन घट्दा तनावमा कुलमान : उद्योगमा अघोषित लोडसेडिङ, घरायासी ग्राहकले पनि लोडसेडिङ बेहोर्नुपर्ला ?



काठमाडौं । एकातर्फ सुक्खायाम, अर्कोतर्फ भारतले न्यून बिजुली दिँदा नेपाल विद्युत प्राधिकरण हाल अलमलमा छ । लोडसेडिङ हटाएर हाइहाइ कमाएका प्राधिकरणका अध्यक्ष कुलमान घिसिङ फेरि लोडसेडिङको दाग नलागोस भन्दै लागिपरेका छन् । यसैका कारण अहिले उनी तनावमा छन् । प्राधिकरण स्रोतका अनुसार उद्योग क्षेत्रमा आन्तरिक रुपमा लोडसेडिङको घोषणा नै गरिसकेको प्राधिकरणले अब घरायसी ग्राहकका लागि कसरी लोडसेडिङको तालिका मिलाउने भन्ने गृहकार्य गरिररहेको छ ।

laxmi

विद्युत उत्पादन कम हुँदा पूर्वका उद्योगहरुमा हालपनि प्रतिदिन करिव ८ देखि १० घण्टा विद्युत आपुर्ति हुन सकेको छन् । हुन त यसलाई लोडसेडिङको नाम नदिएको प्राधिकरणले विद्युत लाइनमा समस्या आउँदा लोड धान्न नसकेको बताउँदै आएको छ । हाल दैनिकजसो २० देखि ३० पटकसम्म बिजुली जाँदा उद्योगहरुको उत्पादनमा गिरावट र जडान गरिएका उपकरणमा ठूलो क्षति पुगिरहेको उद्योगीहरुले बताउँदै आएका छन् । यो समस्यालाई समाधान गर्नका लागि प्राधिकरणले हाल निश्चित समय तोकेरै उद्योगमा बिजुली काट्ने गरेको छ ।

प्राधिकरण उद्योगहरुमा लोडसेडिङ भएको भन्न चाहँदैन । तर, लगातार बिजुली काटिरहँदा उद्योगीहरु भने यसको तालिका नै दिए सहज हुने बताउँदै आएका थिए । नेपाल विद्युत प्राधिकरणका अनुसार हाल नेपालमा विजुलीको माग ३५ हजार २ सय ११ मेगावाट आवर पुगेको छ । तर, भारतबाट आयात गरिएको र नेपालमा उत्पादित बिजुली गरी जम्मा ३१ हजार ५ सय १६ मेगावाट आवर बिजुली मात्रै उपलब्ध छ । यसरी माग र उपलब्ध बिजुलीको अन्तर मात्रै ३ हजार ६ सय ५५ मेगावाट आवर बराबर छ । अर्थात हाल नेपालको विद्युत प्रणालीमा अझै ३६ सय ५५ मेगावाट आवर बिजुली अपुग छ ।

नेपालमा धेरैजसो जलविद्युत आयोजनाहरु रन अफर रिभर, (आरओआर) प्रविधिमा आधारित छन् । यस्ता आयोजनाबाट नदीको पानीको सतहअनुसार बिजुली उत्पादन हुने हुनाले सुक्खायाममा क्षमताजति बिजुली उत्पादन हुँदैन । जसका कारण नेपालले भारतबाट बिजुली आयात गरी खपत गर्नुपर्छ । तर, पछिल्लो समय भारतले पनि बिजुली दिन आनाकानी गरेसँगै प्राधिकरण अप्ठ्यारोमा परेको प्राधिकरणका एक अधिकारीले बताए । ‘हामीले भारतबाट आयात गरेर बिजुलीको माग आपुर्ति गर्दै आएका थियौं,’ उनले भने, ‘एकातर्फ सुक्खायाम र नेपालमा बढेको बिजुलीको मागसँगै भारतबाट पनि न्यून बिजुली आयात हुँदा हामीलाई केही समस्या परेको हो ।’

गएको चैत १५ गतेमात्रै भारतले नेपालका लागि भन्दै आगामी ३ महिनाका लागि मात्रै बिजुली दिने सम्झौता गरेको थियो । खासगरी एक बर्षकै लागि आयात नवीकरण गर्न खोजेको नेपाललाई भारतले अप्रिल, मे र जुनका लागि मात्रै त्यही पनि बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म मात्रै दिने सम्झौता नवीकरण गरेको थियो ।

त्यसबेला नेपाललाई बिजुली दिन आनाकानी गरिरहेको भारतले ३ महिनाकै लागि भएपनि सम्झौता नवीकरण गरिदिँदा खुसी भएको प्राधिकरण पछिल्लो समय बढेको मागका कारण भने झन चिन्तित भएको छ । हाल पिक आवरमै नेपालमा बिजुलीको माग २ हजार मेगावाटसम्म पुग्ने गरेको छ । तर, त्यही बेलामा भारतबाट बिजुली नआउँदा लोड धान्नै धौ–धौ हुनेगरेको प्राधिकरणका अधिकारी बताउँछन् । जसका कारण पिक आवर मानिने बेलुका ६ बजेदेखि करिव ९ बजेसम्म घरायसी ग्राहकको घरसम्म पनि बिजुली आपुर्ति नहुने समस्या पछिल्लो समय देखिइसकेको छ ।

खासगरी धेरै स्थानमा पछिल्लो समय सटडाउन गर्ने भएपछि प्राधिकरणको तथ्यांकमा विद्युत इन्टरप्सन (अवरोध) मा हुने गरेको प्राधिकरणका प्रवक्ता चन्दन कुमार घोष बताउँछन् । ‘पछिल्लो समय धेरै ठाउँमा सटडाउन भएकै कारण इन्टरप्सनको आंकडा उकालो लागेको हो,’ उनले भने, ‘हाल प्रणालीमा मागजति बिजुली भने नभएकै हो ।’

हाल नेपालमा नेपाल विद्युत प्राधिकरण अन्तर्गतका आयोजनाबाट ६ हजार ३ सय ५४ मेगावाट आवर, सहायक कम्पनीहरुबाट १ हजार ७ सय १५ मेगावाट आवर र स्वतन्त्र उर्जा उत्पादकहरुबाट ९ हजार ८ सय १८ मेगावाट आवर बिजुली उत्पादन भइरहेको छ । हाल प्रणालीमा अपुग भएपछि प्राधिकरणले भारतबाट १३ हजार ६ सय ६ मेगावाट आवर बिजुली खरिद गरिरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL