Logo

नौ महिनामा ४३ अर्बको वैदेशिक लगानी प्रतिवद्धता, १४ हजार नेपालीले रोजगारी पाउने

नौ महिनामा ४३ अर्बको वैदेशिक लगानी प्रतिवद्धता, १४ हजार नेपालीले रोजगारी पाउने



काठमाडौं । चालु आर्थिक बर्षको ९ महिना (साउन–चैत) मा ४३ अर्ब बढीको वैदेशिक लगानी प्रतिवद्धता आएको छ । उद्योग विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चैत मसान्तसम्म नेपालमा नयाँ परियोजनामार्फत ३० अर्ब ९ करोड ९५ लाख रुपैयाँ र १२ अर्ब ९७ करोड रुपैयाँ र स्थापित विदेशी कम्पनीहरुमा उक्त लगानी प्रतिवद्धता आएको हो । यसरी चालु आवको चैतसम्म मात्रै विभिन्न ३४३ परियोजनामार्फत ४३ अर्ब ७ करोड ४० लाख ८५ हजार रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको हो ।

laxmi

यसरी आएको लगानी प्रतिवद्धतामार्फत १३ हजार ८ सय ३४ जनाले रोजगारी पाउने बताइएको छ । चैतसम्म आएको लगानी प्रतिवद्धतामध्ये सबैभन्दा बढी ४५ प्रतिशत लगानी पर्यटन क्षेत्रमा आएको छ । यस्तै सेवा क्षेत्रमा ३५ प्रतिशत, उत्पादनमुलक क्षेत्रमा १२ प्रतिशत, आइटी क्षेत्रमा ३ प्रतिशत, पूर्वाधार क्षेत्रमा २ प्रतिशत, कृषिमुलक क्षेत्रमा २ प्रतिशत र खनिज क्षेत्रमा १ प्रतिशतले लगानी प्रतिवद्धता आएको हो ।

चैतमा मात्रै साढे ८ अर्ब बढीको प्रतिवद्धता

यसरी चालु आवको चैतमा मात्रै भने ८ अर्ब ५६ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको विभागको तथ्यांकमा उल्लेख छ । यस अवधिमा नयाँ १६ परियोजनामार्फत ९६ करोड ५० लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आउँदा नेपालमा स्थापित परियोजनामा विदेशी लगानीकर्ताहरुले सेयर पर्चेज एग्रिमेन्ट (एसपीए), सेयर सब्स्क्राइव एग्रिमेन्ट (एसएसए) र टेक्नोलोजी ट्रान्सफर एग्रिमेन्ट (टीटीए)मार्फत ७ अर्ब ५९ करोड ५४ लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता जाहेर गरेका हुन् । यसरी गरिएको प्रतिवद्धतामार्फत ६ सय ६५ जनाले रोजगारी पाउने बताइएको छ ।

चैतमा आएको लगानी प्रतिवद्धतामध्ये पर्यटनमुलक क्षेत्रमा ४४ प्रतिशत, सेवामुलक क्षेत्रमा ३१ प्रतिशत, उत्पादनमुलक क्षेत्रमा १३ प्रतिशत तथा आइटी र कृषि क्षेत्रमा समान ६ प्रतिशतका दरले लगानी प्रतिवद्धता आएको हो ।

९ महिनामा १३ अर्ब फिर्ता लैजान सिफारिस

विदेशी लगानीसँगै नेपालबाट लगानी रकम विदेशी कम्पनीहरुले फिर्ता पनि लैजाने गरेका छन् । यसरी चालु आवको पछिल्लो ९ महिनामा मात्रै विदेशी लगानीकर्ताहरुले लाभांस, सेवा शुल्क, रोयल्टीलगायतका शीर्षकमा १३ अर्ब रुपैयाँ बढी फिर्ता लिनेगरी विभागबाट सिफारिस लिएका छन् । जसअन्तर्गत लाभांशवापत ९ अर्ब ४ करोड ८७ लाख रुपैयाँ र सेवाशुल्कवापतको ७ करोड ५ लाख २८ हजार रुपैयाँ फिर्ता लिने सिफारिस पाएका हुन् ।

यस्तै रोयल्टीवापत नेपाली १ अर्ब ७० करोड, अमेरिकी डलर १ करोड ५ लाख ४३ हजार, भारतीय रुपैयाँ ५५ करोड ४६ लाख र १३ हजार ६ सय युरो फिर्ता लैजानेगरि सिफारिस लिएको विभागले जानकारी दिएको छ । नेपालमा लगानी गरेका विदेशी लगानीकर्ताहरले आफुले पाउनुपर्ने लाभांस विदेश लैजानका लागि उद्योग विभागसँगै समन्वय गरी सिफारिस लिनुपर्ने व्यवस्था छ । विभागको सिफारिसअनुसार राष्ट्र बैंकले उक्त पैसा विदेश लिने बाटो खोलिदिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL