Logo

यथार्थ बन्दै सुरुङबाट काठमाडौं छिर्ने र बाहिरिने सपना, ‘ब्रेक थ्रु’को तयारीमा नागढुंगा सुरुङमार्ग

यथार्थ बन्दै सुरुङबाट काठमाडौं छिर्ने र बाहिरिने सपना, ‘ब्रेक थ्रु’को तयारीमा नागढुंगा सुरुङमार्ग



काठमाडौं । सडक यातायातका लागि नेपालकै पहिलो अत्याधुनिक सुरुङ मार्गका रुपमा निर्माण भइरहेको नागढुंगा सुरुङ मार्ग ब्रेक थ्रु (वारपार छिचोल्ने) को चरणमा पुगेको छ । यससँगै सुरुङ मार्गबाट विना अवरोध काठमाडौं छिर्ने र बाहिरिने सपना यथार्थको नजिक पुगेको छ । बन्द फागुन २३ गते नै सुरुङमार्गको ब्रेक थ्रुको तयारी गरेको नागढुंगा सुरुङमार्ग आयोजनाले अब केही अवरोधका कारण ढिलाई भएपनि अब ब्रेक थ्रुको लागि तयारी गरेको हो ।

laxmi

स्थानीयको अवरोधका कारण काम नै गर्न नपाएको आयोजनाले अबको केही दिनमै सुरुङमार्ग छिचोल्ने बताएको हो । आयोजना प्रमुख नवीनमान श्रेष्ठका अनुसार स्थानीयले अवरोध नगरेको भए फागुनमै सुरुङमार्ग छिचोलिसक्ने भएपनि स्थानीयको अवरोधकै कारण काम लम्बिएको हो । करिव १४ मिटर मात्रै खन्न बाँकी रहेको उक्त सुरुङमार्गको काम मंगलबारदेखि पुनः सुरु भएको छ ।

यसअघि आयोजनाले इभ्याकुएशन सुरुङ करिव गएको साउन २२ गते नै ब्रेक थ्रु भइसकेको छ । तर, मुख्य सुरुङमार्गको काम भने केहि ढिलाई भइरहेको थियो । त्यसमाथि स्थानीयले अवरोध गरिदिँदा झन समस्या थपिएको सडक विभाग विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख डा. विजय जैसीले बताए । ‘हामीले गत सोमबार मात्रै भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ र स्थानीयलाई सँगै राखेर सहमति जुटाएका छौं,’ उनले भने, ‘हाल काम सुरु हुने भएपनि लामो समयसम्म थन्किएका उपकरणहरुको पुनः संचालन गर्न समय लागेकाले खन्ने काम अझै सुरु भएको छैन ।’ आजदेखि मात्रै सुरुङ खन्ने काम हुने उनले बताए । ‘हाल खन्न बाँकी १४ मिटर मात्रै हो, यो पनि प्रतिदिन २ मिटरका दरले खनिरहेका छौं,’ उनले भने, ‘यसरी खनेपछि १ हप्ताभित्रै सुरुङमार्ग छिचोलिने भएपनि विदेशी नियोग, र निर्माण कम्पनीको सहमति र छलफलपछि मात्रै ब्रेक थ्रुको काम हुनेछ ।’ यही दिनमा या यही समयमा ब्रेकथ्रु हुने भन्ने यकिन नभइसकेको पनि जैसीले बताए ।

फागुन १ देखि एक महिनासम्म बन्द भएको आयोजनाको काम एक महिनापछि सुचारु हुँदा कामदारहरु र उपकरण नै जम्मा गर्न समय लागेकाले केही समय काम लम्बिने उपआयोजना निर्देशक गोविन्द डुमारु बताउँछन् । ‘एक महिनासम्म काम बन्द भएपछि आयोजनामा काम गर्ने कामदारहरु केहि घरबिदामा बस्नुभएको छ, उपकरणहरु पनि पुनः जडान गर्नुपर्छ,’ उनले भने, ‘ यसले पनि सुरुङको काम पहिलेजस्तो छिटो भने भइरहेको छैन, केही समय लाग्नसक्छ ।’

सरकारले १६ अर्ब रुपैयाँ जापानी सहयोग नियोग (जाइका)सँग ऋण लिएर उक्त सुरुङमार्ग बनाउँदै छ । कुल २२ अर्ब खर्च हुने उक्त आयोजनामा उक्त ऋणबाहेक मुआब्जाका लागि सरकारले ६ अर्ब रुपैयाँ खर्चेको छ । अन्य समस्या समाधान गर्न सकिने भए पनि प्रभावितले पुनः जग्गाको मुआब्जा माग गरेपछि समस्या बल्झिँदै गएको थियो । हाल मुआब्जाको केही समस्या भने बाँकी नै छ । केही स्थानीयहरु मुखाब्जाकै बिषयलाई लिएर अदालतसम्म पुगेका छन् ।

सुरुङमार्ग निर्माणको जिम्मा हाज्मा–आन्दो कर्पोरेशनलेले पाएको छ । २०७६ देखि निर्माण सुरु गरेको कम्पनीले कोरोना महामारीमा काम गर्न नपाएको भन्दै म्याद थप्न आग्रह गरेपछि नेपाल सरकारले आयोजनाको म्याद २०२४ अप्रिलसम्म पुर्याएको थियो । हालसम्म सबैजसो काम भइसकेपनि काठमाडौंतर्फ ओभरब्रिजका लागि आवश्यक जग्गाको टुंगो अझै लागेको छैन ।

आयोजनामा हालसम्म ६८ प्रतिशत वित्तीय प्रगति भएको छ । २०७६ कात्तिक ४ गते शिलान्यास भएको उक्त सुरुङमार्ग ४२ महिनामा सम्पन्न गर्ने गरी निर्माण सुरू भएको थियो । सुरुङमार्ग सञ्चालनमा आएपछि त्रिभुवन राजपथको बलम्बुसम्मको दूरी तीन किलोमिटरले कम हुनेछ । सडकको दुरी तीन किलोमिटरले मात्र कम भए पनि सुरुङमार्गको पश्चिमी प्रवेश बिन्दुदेखि नागढुंगासम्मको उकालो र त्यहाँ हुने ट्राफिक जामलाई दृष्टिगत गरी एक व्यक्तिको झन्डै आधाघण्टा समय बचत हुने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL