Logo

सरकारले विश्वासको मत पाएसँगै बढ्यो अविश्वास, पौडेलको चर्चाले बढेको बजार पुन आउँदा लाग्यो ओरालो

सरकारले विश्वासको मत पाएसँगै बढ्यो अविश्वास, पौडेलको चर्चाले बढेको बजार पुन आउँदा लाग्यो ओरालो



काठमाडौं । नयाँ सरकार गठनको हल्लासँगै बढेको सेयर बजारले पुनः ओरालो यात्रा तय गरेको छ । पुरानो गठबन्धनको सरकार भत्किएर नेकपा एमाले, नेकपा माओवादीलगायतको गठबन्धन सरकार बन्ने हल्लाले लामो समयपछि बजार बढेर सर्किट लागेको थियो ।

laxmi

नेपालको सेयर बजार फण्डामेन्टलभन्दा पनि लगानीकर्ताको मनोविज्ञानमा चल्दै आएको छ । नयाँ गठबन्धनको सरकारमा अर्थमन्त्री एमालेको तर्फबाट विष्णु पौडेल बन्ने हल्ला चलेसँगै बजार ११७ अंकले बढेर सर्किट लागेको थियो । तर, सोही दिन अर्थमन्त्रीमा पौडेलेको सट्टा माओवादीको तर्फबाट वर्षमान पुन हुने भन्ने हल्ला चलेसँगै भोलिपल्टै बजारमा ७० अंकको गिरावट आएको थियो ।

अहिले बजारमा प्रशस्त रुपमा लगानीयोग्य पुँजी रहेको छ भने सोही अनुरुप कर्जाको ब्याजदर पनि घट्दो ट्रेन्डमा रहेको छ । कुनै समय १७ प्रतिशत पुगेको बाणिज्य बैंकहरुको कर्जाको ब्याज अहिले घटेर ९ प्रतिशतको हाराहारीमा झरिसकेको छ । सामान्यतय बजारमा लगानीयोग्य पुँजीको उपलब्धता र ब्याजदरमा कमी आउँदा सेयर बजारमा लगानीकर्ताको प्रवेश हुने गर्दछ । तर, पछिल्लो समय सरकारसँग लगानीकर्ताको विश्वास नभएकै कारण बजार निरन्तर रुपमा घटिरहेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । ‘अहिलेको बजारले अर्थमन्त्रीको रुपमा विष्णु पौडेललाई विश्वास गरेको छ,’ एक लगानीकर्ताले भने, ‘अर्थमन्त्रीमा उनी आउने चर्चासँगै बजार उच्च अंकले बढ्न पुगेको थियो तर, त्यसको भोलिपल्टै अर्थमन्त्रीको रुपमा वर्षमान पुन आउने हल्लाले बजारमा उच्च गिरावट आयो ।’

अर्थमन्त्रीमा पुन नियुक्त भएसँगै उनले लगानीकर्तालाई विश्वासमा लिएर सेयर बजारलाई बढाउन सकारात्मक खालका प्रचारबाजी गरेका थिए भने बजारलाई आफ्नो पक्षमा देखाउन आफु नजिकका लगानीकर्तालाई फोन नै गरेर बजार बढाइदिन आग्रह गरेका थिए । सोही अनुरुप पुन अर्थमन्त्री भएसँगै बजार समान्य रुपमा बढ्न पुगेको थियो । तर, बजारलाई अर्थमन्त्रीप्रति सकारात्मक देखाउन कृत्रिमरुपमा बजार बढाउन केही दिन धानेका लगानीकर्ताले टिकाउन नसकेपछि बजार पुनः ओरालो यात्रामा लागेको छ ।

नयाँ गठबन्धन सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट गृहमन्त्रीमा रवि लामिछाने छन् । उनले आपराधिक क्रियाकलापमा संलग्न सबैलाई पक्राउ गरेर कारबाहीको दायरामा ल्याउन नेपाल प्रहरीलगायत आफु सम्बद्ध निकायलाई निर्देशन दिइसकेका छन् । सोहीअनुरुप अहिले सुन काण्डमा पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेश पुन, पूर्व सभामुख एवं माओवादीका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परिसकेका छन् । पछिल्लो समय माओवादीको सुन तस्करी काण्ड बाहिरिएसँगै लगानीकर्ताले सामाजिक संजालमा ‘अर्थमन्त्री वर्षमान पुन नेप्से ३२०० सुन’ भने प्रचारप्रसार गर्दै आएका छन् । जसलाई लगानीकर्ताले दोहोरो अर्थमा बुझन थालेका छन् । अहिले सुन तस्करी काण्डमा माओवादीका ठूला नेता पक्राउ परेसँगै यो सरकारको आयु कति हुने हो भन्ने नै अन्योलमा परेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । ‘अहिले बजारले स्यायित्व खोजेको छ भने सोहीअनुरुप बजारप्रति सकारात्मक अर्थमन्त्री चाहेको छ,’ एक लगानीकर्ताले भने, ‘अहिलेको सरकार पुँजीवादको विरोधी रहेको र सरकारको नेतृत्वले समेत पुँजी बजारलाई अनुत्पादक क्षेत्रको रुपमा परिभाषित गर्दै आएका कारण लगानीकर्ताहरु विश्वस्त हुन सकेका छैनन् ।’

नयाँ सरकार गठन भएर विश्वासको मत पाएसँगै सेयर बजार निरन्तर रुपमा गिरावट आएको थियो । सरकारले विश्वासको मत पाएर पुँजी बजारका साथै समग्र अर्थतन्त्रको सुधारका लागि दिगोरुपमा काम गर्ने अवसर पाएपनि अर्थमन्त्री पुन र सरकारप्रति भने लगानीकर्ताको अविश्वास बढ्दो छ । अहिले अर्थमन्त्रीले हरेक कार्यक्रममा सेयर बजार सुधारका विषय बोलेका छन् तर, व्यवहारमा कुन बेला के हुने हो भन्ने त्रासका कारण लगानीकर्ताहरु ढुक्क भएर बजार प्रवेश गर्न सक्ने अवस्था छैन । सरकारले विश्वासको मत पाएसँगै नेप्से परिसुचक ४ कारोबार दिनदेखि निरन्तर ओरालो लागिरहेको छ । पछिल्लो समयको नेप्से परिसुचकको घटाईले लगानीकर्ताले सरकारको कार्यशैली र अर्थमन्त्री पुनको बोलीप्रति विश्वास नगरेको सम्बद्ध विश्लेषकहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL