Logo

चैतमा ब्याजदर थप घट्दै, संस्थागत र व्यक्तिगत ब्याजदर अन्तर १ प्रतिशत कायम

चैतमा ब्याजदर थप घट्दै, संस्थागत र व्यक्तिगत ब्याजदर अन्तर १ प्रतिशत कायम



काठमाडौं । चैत महिनाको लागि अधिकांश बैंकहरुले निक्षेपको ब्याजदर थप घटाउने भएका छन । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको अर्धवार्षिक मौद्रिक नीति समीक्षामार्फत लिएको नीतिको कारण बैंकहरुको ब्याजदर थप घट्ने भएको हो ।

laxmi

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको अर्थवार्षिक मौद्रिक नीति समीक्षा मार्फत संस्थागत निक्षेप कर्ताको निक्षेपको ब्याजदरभन्दा व्यक्तिगत निक्षेपकर्ताको निक्षेपको ब्याजदर एक प्रतिशतले मात्र कम हुनुपर्ने व्यवस्था चैत एक गतेबाट लागु हुनेछ । जसको कारण ब्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर थप एक प्रतिशतसम्म घट्ने भएको हो । हाल संस्थागत निक्षेपकर्ता र व्यक्तिगत मुद्दती निक्षेपकर्ताबीचको ब्याजदर अन्तर २ प्रतिशत छ ।

हाल बैंक तथा वित्तीय संथामा पर्याप्तमात्रामा तरलता रहेकोले छ । यसैगरी, वित्त क्षेत्रमा अहिले पनि कर्जाको माग बढ्न सकेको छैन । वाणिज्य बैंकले फागुन महिनामा निक्षेपमा अधिकतम ब्याजदर ८.५ प्रतिशत तोकेका थिए । चैतमा निक्षेपको ब्याजदर यो बिन्दुबाट अझ तल झर्ने सम्भावना रहेको बैंकर संघका अध्यक्ष तथा एनएमबी बैंकका कार्यकारी अधिकृत (सिईओ) सुनिल केसी बताउँछन । अहिले बैंकहरूको पुँजी लागत लगभग ७ प्रतिशतको हाराहारीमा रहेको र बैंकहरुले थप निक्षेपको ब्याजदर थप बढाउन नसक्ने अवस्था रहेको केसीको बुझाई छ ।

राष्ट्र बैंकले ब्याजदर घट्ने क्रमलाई स्थिर बनाउनको लागि संस्थागत र व्यक्तिगत ब्याजदर अन्तर १ प्रतिशत कायम गर्नुपर्ने नीति लिएको थियो । तर, अहिलेको परिस्थितिले ब्याजदर अझ घटाउनुपर्ने अवस्था सिर्जना गरेको राष्ट्र बैंक स्रोत बताउँछ । ‘बैंकहरुको कर्जा लगानी बढेको खण्डमा बैंकहरुले संस्थागत लगानीकर्ताको ब्याजदर १ प्रतिशत बढाएर व्यक्तिगत निक्षेपकर्ताको ब्याजदर यथावत राख्न सक्ने गरी राष्ट्र बैंकले नीति लिएको थियो ।’ राष्ट्र बैंक स्रोत भन्छ, ‘तर, अहिलेको अवस्थामा बैंकहरु थप निक्षेपको ब्याजदर बढाएर दिन नसक्ने अवस्थामा छौं भनिरहेका छन ।’

‘हाल बैंकमा कर्जा लगानीभन्दा निक्षेप संकलन धेरै छ, जसको कारण बैंकहरुले अहिलेको परिस्थितिमा निक्षेप ब्याजदर बढाएर दिन सक्दैनन ।’ बैंकर्स केसी भन्छन, ‘यसकारण अधिकांश बैंकको निक्षेपको ब्याजदर घट्ने नै अवस्थामा छ, केही बैंकले आफ्नो अवस्थाअनुसार संस्थागत लगानीकर्ताको ब्याजदर बढाउन पनि सक्छन ।’

राष्ट्र बैंकको तथ्यांकअनुसार फागुन २३ गतेसम्म बैंकहरुको कुल कर्जा लगानी ५० खर्ब ८९ अर्ब रुपैयाँ रहेको छ भने कुल निक्षेप संकलन ६१ खर्ब ७१ अर्ब रुपैयाँ रहेको छ । यस अवधिमा वाणिज्य बैंकले मात्र ५४ खर्ब ५८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन । यसैगरी, वाणिज्य बैंकले मात्र यस अवधिमा ४५ खर्ब २ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । फागुन २३ गतेसम्म बैंकिङ क्षेत्रको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८०.०५ प्रतिशत रहेको छ भने इन्टर बैंक ब्याजदर २.८८ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL