Logo

सात महिनामा कर्जा लगानी ४.३ प्रतिशतले बढ्यो, सेयर धितो कर्जामा ११.६ प्रतिशतको वृद्धि

सात महिनामा कर्जा लगानी ४.३ प्रतिशतले बढ्यो, सेयर धितो कर्जामा ११.६ प्रतिशतको वृद्धि



काठमाडौैं । चालु आर्थिक वर्षको सात महिनामा बैंक तथा वित्तीय क्षेत्रले गर्ने कर्जा लगानी ४.३ प्रतिशत बढेको छ । गत आर्थिक वर्षको यस अवधिमा यस्तो कर्जा लगानी २.७ प्रतिशतमात्र भएको थियो ।

laxmi

गत आर्थिक वर्षको तुलनामा चालु आवमा कर्जा लगानी बढेको देखिएता पनि नेपाल राष्ट्र बैंकले राखेको लक्ष्यअनुसार कर्जा लगानी बढ्न सकेको छैन । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा ११.५ प्रतिशत कर्जा लगानी गर्ने लक्ष्य राखेको छ । तर, चालु आर्थिक वर्षको सात महिना बित्दा पनि कर्जा लगानी ४.३ प्रतिशतमात्र भएको हो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार असार मसान्तदेखि माघ मसान्तसम्म आउँदा २ खर्ब ८ अर्ब ८१ करोड रुपैयाँ कर्जा लगानी भएको छ । गत आर्थिक वर्षको सात महिनामा १ खर्ब २७ अर्ब ७२ करोड रुपैयाँमात्र कर्जा लगानी भएको थियो । चालु आर्थिक वर्षको सात महिनासम्म आउँदा सेयर धितोमा जाने कर्जा लगानी ११.६ प्रतिशतले बढेको छ । चालु आवको ७ महिनामा ८ अर्ब ८६ करोड ३७ लाख रुपैयाँ बराबरको मार्जिन प्रवृतिको कर्जा लगानी भएको छ । गत आर्थिक वर्षको यस अवधिमा यस्तो कर्जा लगानी ७.१ प्रतिशतले घटेको थियो । चालु आर्थिक वर्षको मौद्रिक नीति लगायतका नीतिगत कुरामा सेयर बजारप्रति नेपाल राष्ट्र बैंक सकारात्मक देखिएको छ । जसको कारण चालु आर्थिक वर्षमा सेयर धितोमा जाने कर्जा लगानी बढेको हो ।

यसैगरी, चालु आर्थिक वर्षको सात महिनामा व्यक्तिगत घर कर्जा लिने पनि बढेका छन । घरकर्जाको लागि २० लाख रुपैयाँभन्दा माथिको कर्जा सात महिनामा ३२ अर्ब ५१ करोड ८८ लाख रुपैयाँ लगानी भएको छ । यस्तो कर्जा सात महिनाको अवधिमा ९.३ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी, यस अवधिमा औधोगिक क्षेत्रमा जाने कर्जा लगानी पनि १४ प्रतिशतको हाराहारीमा बढेको छ ।

चालु आर्थिक वर्षको सात महिनामा आवधिक कर्जा (टर्म लोन) मार्फत २ खर्ब २१ अर्ब ९१ करोड ८४ लाख रुपैयाँ कर्जा लगानी भएको छ । नेपाल राष्ट्र बैंकले यस शीर्षकको उपशीर्षक औधोगिक संस्थाहरु मार्फत धेरै कर्जा लगानी भएको जानकारी दिएको छ । यस उपशीर्षक मार्फत चालु आर्थिक वर्षको सात महिनामा ८९ अर्ब ७३ करोृड ८९ लाख रुपैयाँ कर्जा लगानी भएको छ ।

यसैगरी, चालु आवको सात महिनामा क्यास क्रेडिट लोन पनि बढेको छ । यस अवधिमा यस्तो लोन २६ प्रतिशतले बढेको छ । सात महिनामा क्यास क्रेडिट लोन १ खर्ब ३४ करोड २१ लाख ५७ लाख रुपैयाँ लगानी भएको छ । यस अवधिमा ट्रस्ट रसिद ऋण÷आयात ऋण पनि ११.१ प्रतिशतले बढेको राष्ट्र बैंकले जानकारी दिएको छ । यस अवधिमा यस्तो कर्जा ८ अर्ब १८ करोड २४ लाख रुपैयाँ लगानी भएको छ । चालु आवको सात महिनामा ओभरड्राफ्ट कर्जा लगानी, चालु पुँजी कर्जा लगानी, हायर पर्चेज (गाडी) कर्जा लगानी र रियलस्टेट कर्जा लगानी भने घटेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL