Logo

चालु खाता र शोधनान्तर स्थितिमा सुधार, चालु खाता १६१ अर्ब र शोधनान्तर स्थिति २९७ अर्बले बचतमा

चालु खाता र शोधनान्तर स्थितिमा सुधार, चालु खाता १६१ अर्ब र शोधनान्तर स्थिति २९७ अर्बले बचतमा



काठमाडौं । पछिल्लो समय देशको आर्थिक स्थिितमा सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको पछिल्लो सात महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार देशको अर्थतन्त्रमा सुधार देखिएको हो । समीक्षा अवधिमा चालु खाता रु.१६१ अर्ब ६९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.४० अर्ब १६ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३१ करोड ४६ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब २२ करोडले बचतमा रहेको छ ।

laxmi

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर २९.० प्रतिशतले कमी आई रु.३ अर्ब ८० करोड कायम भएको छ भने खुदप्रत्यक्ष वैदेशिक लगानी रु.५ अर्ब १८ करोडले धनात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.५ अर्ब ३५ करोड कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु.१ अर्ब ४ करोडले धनात्मक रहेको थियो ।

यसैगरी समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.२९७ अर्ब ७२ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.१२८ अर्ब ५५ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ९७ करोड ५७ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब २४ करोडले बचतमा रहेको छ ।

यस्तै २०८० असार मसान्तमा रु.१५३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १९.९ प्रतिशतले वृद्धि भई २०८० माघ मसान्तमा रु.१८४४ अर्ब ९४ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८० माघ मसान्तमा १८.६ प्रतिशतले वृद्धि भई १३ अर्ब ८९ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा रु.१३४५ अर्ब ७८ करोड रहेकोमा २०८० माघ मसान्तमा २०.७ प्रतिशतले वृद्धि भई रु.१६२३ अर्ब ९२ करोड पुगेको छ ।

यस्तै बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा रु.१९३ अर्ब ५९ करोड रहेकोमा २०८० माघ मसान्तमा १४.२ प्रतिशतले वृद्घि भई रु.२२१ अर्ब २ करोड कायम भएको छ । २०८० माघ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.६ प्रतिशत रहेको छ ।

यस्तै आर्थिक वर्ष २०८०÷८१ को सात महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १४.७ महिनाको वस्तु आयात र १२.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८० माघ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३४.३ प्रतिशत, १०२.४ प्रतिशत र २८.० प्रतिशत रहेका छन् । २०८० असार मसान्तमा यी अनुपातहरु क्रमशः २८.६ प्रतिशत, ८३.० प्रतिशत र २५.० प्रतिशत रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL