Logo

निर्माण व्यवसायीलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिन माग, सुर्खेतको घटनाप्रति ध्यानाकर्षण

निर्माण व्यवसायीलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिन माग, सुर्खेतको घटनाप्रति ध्यानाकर्षण



काठमाडौं । निर्माण व्यवसायीप्रति लक्षित आक्रमणका घटनामा कुनै कमी नआएको प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार गत शनिवार बेलुका सुर्खेतस्थित वीरेन्द्रनगरपालिका—१ गैरीचोकमा नेपाल निर्माण व्यवसायी एकता समाज सुर्खेतका सदस्य एवं विनोद निर्माण सेवाका प्रोपाइटर विनोद गिरीमाथि गोली प्रहार भएको थियो ।

laxmi

सोमवार महासंघका महासचिव रोशन दाहालले विज्ञप्ति जारी गर्दै घटनाको कडा शब्दमा निन्दा एवं भत्सर्ना गरेका छन् । कर्णाली प्रदेशको राजधानीको केन्द्रमै अत्यन्त योजनाबद्ध तरिकाले भएको यस किसिमको गोलीकाण्डले मुलुकको अत्यन्त खस्कँदो सुरक्षा अवस्था उजागर गरेको महासंघको भनाइ छ ।

‘यस घटनाबाट देशभरका निर्माण व्यवसायीहरू सहित समग्र निजी क्षेत्रमा त्रासको वातावरण सिर्जना गरेको छ’ महासंघको विज्ञप्तिमा भनिएको छ । म्याद थपमा देखिएको जटिलताका कारण राज्यबाट पाउनु पर्ने अरबौं रकम समेत नपाई ठूलो मानसिक तनावमा रहेका निर्माण व्यवसायीहरू यस घटनाबाट आतंकित भई अझ विक्षिप्त भएको महासंघको भनाइ छ ।

महासंघले गोलीकाण्डमा संलग्न सबैलाई कानूनी कठघरामा ल्याई कार्वाही गर्न माग गर्दै देशभरका निर्माण व्यवसायीहरू सहित उनीहरूका उपकरणको समेत सुरक्षाको पूर्ण व्यवस्था मिलाउन गृह मन्त्रालय लगायतका सरोकारवाला सबै निकाय समक्ष जोडदार अपील गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL