Logo

चिनियाँ बन्दरगाहको उपयोग लाभविहिन, आयात-निर्यातमा माइलस्टोन बन्नसक्ने भएपनि किन गर्दैन नेपालले उपयोग ?

चिनियाँ बन्दरगाहको उपयोग लाभविहिन, आयात-निर्यातमा माइलस्टोन बन्नसक्ने भएपनि किन गर्दैन नेपालले उपयोग ?



काठमाडौं । नेपाल चीनबीच पारवहन सम्झौताको लामो समयपश्चात पनि नेपालले प्रयोग गर्न पाउने चिनियाँ बन्दरगाहहरु प्रयोग नआउँदा सम्झौता कागजमै सीमित भएको छ । भारतले एकाएक नाकाबन्दी गरेपछि भारतीय सीमानाकाबाट हुने आयात र निर्यात करिव ६ महिना ठप्प भएपछि सरकारले विश्व व्यापारका लागि विकल्पका रुपमा भन्दै चीनसँग व्यापार तथा पारवहन सम्झौता गरेको थियो ।

laxmi

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ सालमा पहिलोपटक चीन भ्रमणताका चीनका ४ बन्दरगाहमार्फत नेपालले तेस्रो मुलुक आयात निर्यात गर्न पाउनेगरी सम्झौता गरेका थिए । जसमा नेपाल नजिक पर्ने चीनका झाईजिङ, सेन्जेन, तियान्जेन र लियान्युन्झ्याङ बन्दरगाह नेपालले प्रयोग गर्न पाउने कुरा समेटिएका थियो । आजभन्दा करिव ८ बर्ष अघि नै चीनको बाटो हुँदै नेपालले तेस्रो मुलुकमा वस्तु आयात निर्यात गर्न पाउने अवस्था सिर्जना भएपनि व्यवहारिकतामा उक्त सम्झौता कार्यान्वयन नभएको देखिन्छ ।

खासगरी भारतीय बन्दरगाह हुँदै बर्षाैंदेखि व्यापार गर्दै आएका नेपाली व्यापारीको प्रवृत्तिमा परिवर्तन नहुँदा र चीनतर्फका नाकामार्फत व्यापार गर्दा हुने फाईदाका बारेमा बुझाउन नसक्दा सम्झौताको फाईदा लिन नसकिएको विज्ञहरु बताउँछन् । पहिलोपटक २०७२ चैत ८ गते चीनसँग यस्तो सम्झौता गरिएपनि त्यसको कार्यविधिमा भने २०७५ भदौ २२ मा मात्रै सहमति भएको थियो । पुनः विस २०७६ बैशाख १६ गते सन्धिमा हस्ताक्षर भएको थियो ।

त्यसयता कोरोना महामारी फैलिएपछि चीनतर्फका नाका नै राम्रोसँग संचालनमा आउन सकेका थिएनन् । कोरोनापछि अवस्था सहज हुँदै गएपछि चीनले नाकासँगै बन्दरगाहको प्रयोगमा पनि केहि सहजीकरण गरिदिएको थियो । जसका कारण अघिल्लो महिना मात्रै नेपालबाट चीनको तियान्जिन बन्दरगाहको बाटो भएर एक कन्साइनमेन्ट चाउचाउ जापानतर्फ गएको थियो । हाल चीनतर्फका यी बन्दरगाह र नाकाहरु नेपाली व्यापारीका लागि खुला भएपनि सोचेअनुसार प्रयोग भने भएको देखिँदैन । खासगरी नेपाली व्यापारीलाई बर्षाैदेखि वस्तु ल्याउन भारतकै बाटो सजिलो लाग्ने भएपछि चिनियाँ बन्दरगाहहरु भनेबमोजिम प्रयोगमा आउन नसकेको व्यापारीहरु बताउँछन् ।

व्यापारीहरुले जहाँबाट सस्तो र छिटो हुन्छ त्यतैको बन्दरगाह प्रयोग गर्ने भएकाले चीनतर्फ भन्दा भारतीय बन्दरगाहतर्फ बढी आकर्षण रहेको नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्ल बताउँछन् । उनका अनुसार चीनतर्फका बन्दरगाह पनि हाल नेपाली व्यापारीका लागि खुला रहेकाले जतिबेला र जे सामान आयात या निर्यात गर्न नेपाली व्यापारीहरुले चिनियाँ बन्दरगाह प्रयोग पाईरहेका छन् । तर, व्यापार सहज भारततर्फ नै लाग्ने भएपछि सबैजसो व्यापारी भारतीय बन्दरगाह नै बढी प्रयोग गर्ने गरेको उनी बताउँछन् । ‘गत महिना मात्रै चाउचाउसहितको एक कन्साईनमेन्ट चीनको तिन्जियान बन्दरगाहमार्फत जापानका लागि छुटेको थियो,’ उनले भने, ‘त्यसयता अन्य कन्साइनमेन्ट नगएपनि नेपाली व्यापारीलाई चिनियाँ बन्दरगाहमा सहजै पहुँच भईरहेको जानकारी हामीले पाएका छौं ।’

खासगरी चिनियाँ बन्दरगाहहरुलाई जापानमा सामान निर्यातका लागि र त्यहाँबाट सामान आयातका लागि सजिलो र छिटो हुने बताईँदै आएको छ । भविष्यमा नेपालबाट जापान र जापानबाट नेपालमा वस्तु आदानप्रदान गर्नका लागि र बैकल्पिक बन्दरगाहको रुपमा चिनियाँ बन्दरगाह प्रयोग गर्न सकिने उनले बताए । यता चीनसँगको पारवहन सम्झौतामा प्रमुख भूमिका निर्वाह गरेका पूर्व वाणिज्य सचिव रविशंकर शैँजु भने सरकारले व्यापारीहरुलाई चीनतर्फका बन्दरगाहको फाईदाबारे बुझाउनै नसकेको बताउँछन् । धेरैजसो दक्षिण पूर्वी एशियाका मुलुकहरुबाट नेपाल आउने वस्तु र नेपालबाट त्यसतर्फ जाने वस्तुहरु नेपालसम्म पुग्न भारतीय बन्दरगाहको तुलनामा आधा कम समय लाग्छ । तर यो फाईदाबारे अझै व्यापारीहरुलाई सरकारले बुझाउन नसकेको उनको भनाई छ । सरकारले चिनियाँ बन्दरगाहको उपयुक्त प्रयोगका लागि आवश्यक काम गर्न सके नेपालको वैदेशिक व्यापार अर्थात आयात–निर्यातमा कोशेढुंगा (माइलस्टोन) बन्न सक्ने उनी बताउँछन् ।

‘भारतीय बन्दरगाहहरु कलकत्ता र विशाखापटनमको तुलनामा चिनियाँ बन्दरगाह हुँदै कुनै वस्तु दक्षिण पूर्वी एशियाबाट आउनुपर्याे भने करिव २० दिन छिटो नेपाल आईपुग्छ,’ उनले भने,‘यहि कुरा पनि नेपालका व्यापारीहरुलाई हामीले बुझाउन सकेका छैनौं ।’ उनका अनुसार कुनै दक्षिण पूर्वी मुलुकबाट नेपाललसम्म भारतीय बन्दरगाहको बाटो हुँदै कुनै सामान आईपुग्न ३५ देखि ४० दिन लाग्छ । त्यहि सामान चीनतर्फका नाका हुँदै आए १२ देखि १५ दिनमै काठमाडौंसम्म आईपुग्छ । यसको बारेमा अझै सरकारले बुझाउन नसक्नुले चीनतर्फका नाकाहरु उपेक्षित भइरहेको उनको भनाई छ । ‘चीनले हामीलाई ४ नाकाहरु सहजताका साथ प्रयोग गर्न खुल्ला छोडिदिएको छ,’ उनले भने, ‘सरकारी कमजोरीकै कारण व्यापारीहरुले यसको फाईदा नजान्दा हामीले यी बन्दरगाहको प्रयोग गर्न सकिरहेका छैनौं ।’

चीनसँगको पारवाहन सन्धिको भाषा, नेपालतर्फको सडकको अवस्था र ढुवानीका सेवामा देखिएको सिण्डिकेटले पनि धेरैजसो नेपाली व्यापारीहरु चीनतर्फको भन्दा भारततर्फको बाटो सजिलो मान्ने उनले बताए । खासगरी नेपालले विश्वबजारमा गर्ने बार्षिक कुल आयातको करिव ३० प्रतिशत व्यापार चीनसँग मात्रै गर्छ । यदि चीनबाट हुने व्यापारमात्रै पनि नेपालका उत्तरी नाकाबाट गर्न सकियो भने धेरै राहत हुने उनको बुझाई छ । हाल चीनसँग जोडिएका उत्तरी नाकासँग नेपालले चीनसँगको कुल आयात व्यापारको जम्मा २ देखि ३ प्रतिशत मात्रै व्यापार गर्ने गरेको छ । बाँकी सबैजसो व्यापार भारतको कलकत्ता र विशाखापटनम बन्दरगाहको बाटो हुँदै हुने गरेको देखिन्छ ।

यता हिमालयन सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्की भने चीनतर्फका नाकामै समस्या रहेको बताउँछन् । ‘पहिलेपहिले नेपाली गाडीहरु खासासम्म जान पाउँथे त्यसबेला साना ठूला व्यापारीलाई सहज थियो । तर, हाल नेपाली गाडीहरु पारीसम्म सहजरुपले जान नपाउने भएपछि पनि समस्या भएको छ । नेपालतर्फका गाडीहरु माथिसम्म जान नपाउँदा धेरै समस्या भएको छ,’ उनले भने, ‘चीनले कोरोनापछि पनि नाकामा सहजीकरण नगरिदिँदा वस्तुको आयात निर्यातमै समस्या उत्पन्न भईरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL