Logo

काभ्रेपलाञ्चोकमा आयोजित बृहत कृषि महोत्सव चार दिनमा ७० हजारले गरे अवलोकन

काभ्रेपलाञ्चोकमा आयोजित बृहत कृषि महोत्सव चार दिनमा ७० हजारले गरे अवलोकन



काठमाडौं । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको मुख्य आयोजना तथा जिल्लास्थित सबै पालिकाको आयोजनामा यही फागुन ४ गतेदेखि सञ्चालन भएको ‘बृहत् काभ्रेपलाञ्चोक कृषि महोत्सव, २०८०’ सोमबार सकिएको छ ।

laxmi

बनेपाको तीनदोबाटोस्थित करुणमार्गमा चार दिनसम्म चलेको महोत्सव करिब ७० हजार दर्शकले अवलोकन गरेको जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपककुमार गौतमले बताए । प्रदर्शनीमा जिल्लास्थित सबै गाउँपालिका तथा सिन्धुपाल्चोकका पाँचपोखरी थाङपाल गाउँपालिकाले कृषिजन्य वस्तुको प्रदर्शनी गरेका थिए । महोत्वस अवलोकन गर्नका लागि विभिन्न ३५ जिल्लाका जनप्रतिनिधि सहभागी भएको उनले बताए ।

किसानका समस्यादेखि उनीहरूले उत्पादन गरेका वस्तुको बिक्री र प्रदर्शनीले राम्रो प्रचार पाएको भन्दै उहाँले अब जिल्लाले नै कृषिमा फड्को मार्ने आशा व्यक्त गरे । ‘अब जिल्लाका किसानले पनि मल नपाउने समस्याबाट मुक्त हुनेछन्’, उनले भने, ‘महोत्सवले प्रत्येक पालिकामा हाटबजार चलाउन पालिकालाई महोत्सवले दबाब दिनेछ ।’

जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका उपप्रमुख रिमबहादुर तामाङले जिल्लाका सबै पालिका र सरकारी कार्यालयसँगको समन्वयमा महोत्सव भव्यरूपमा सम्पन्न भएको बताए । सो क्रममा उनले महोत्सवले किसानको समस्या र उनीहरूको उत्पादनको बजारीकरणका लागि बहस गर्ने र पैरवी गर्ने थलोका रूपमा विकास गरेको बताए । महोत्सवमा दुई सयवटा कृषिसँग सम्बन्धित प्रदर्शनी कक्ष राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL