Logo

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा माघ अन्तिम साता, प्राथमिकतामा कर्जा विस्तार

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा माघ अन्तिम साता, प्राथमिकतामा कर्जा विस्तार



काठमाडौं । नेपाल राष्ट्र बैंक चालु आर्थिक वर्षको अर्धवार्षिक मौद्रिक नीति समीक्षाको तयारीमा जुटेको छ । अर्धवार्षिक मौद्रिक समीक्षाका लागि केन्द्रीय बैंक आन्तरिक छलफलमा छ । राष्ट्र बैंकका विभिन्न विभागले अर्धवार्षिक मौद्रिक नीति समीक्षाको लागि तथ्यांकहरुको अध्ययन गर्ने काम गरिरहेको राष्ट्र बैंककी डेपुटी गर्भनर निलम ढुङ्गानाले जानकार िदिइन । माघ महिनाको अन्तिम सातासम्म मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्ने गरी काम भइरहेको ढुङ्गाना बताउँछिन ।

laxmi

यसपटक अर्धवार्षिक मौद्रिक नीति समीक्षामा खासै धेरै नीतिगत फेरबदल नगर्ने मुडमा राष्ट्र बैंक रहेको छ । ‘मौद्रिक नीतिको पहिलो त्रैमासिम समीक्षामार्फत नै धेरै विषय सम्बोधन भएका छन् । अर्धवार्षिक मौद्रिक नीति समीक्षामा धेरै कुराको फेरबदल गर्नुपर्ने देखिएको छैन, पहिलेकै निरन्तरता होला’, राष्ट्र बैंक स्रोतले बतायो ।

अहिले मुख्यत बैकिङ र सेयर बजारले अर्धवार्षिक मौद्रिक नीतिको समीक्षाको प्रतिक्षा गरिरहेका छन् । समीक्षामार्फत बैंक तथा वित्तीय संस्थाले कर्जा लगानी विस्तार हुने खालको नीति र सेयर बजारका लगानीकर्ताहरुले सेयर कर्जामा थप खुकुलो व्यवस्थाको अपेक्षा गरेका छन् । पछिल्लो समय बैंकिङ क्षेत्रले कर्जा लगानी गर्न नसक्दा बैंकिङ क्षेत्रमा समस्याहरु देखिन थालेको छ । कर्जा प्रवाह सुस्त हुँदा बैंकिङ क्षेत्रको वित्तीय विवरणमा नकारात्मक असर परिरहेको छ भने अर्कोतर्फ खराब कर्जाको अनुपात पनि बढ्दो छ । जसको कारण बैंक तथा वित्तीय संस्थाले कर्जा लगानी बढाउने खालको मौद्रिक नीतिको अपेक्षा गरिरहेको बैंकरहरु बताउँछन ।

यसअघि पहिलो मौद्रिक नीतिको समीक्षामा राष्ट्र बैंकले सुस्त भएको अर्थतन्त्रलाई चलायमान बनाउन भन्दै नीतिगत दर, बैंक दर, निक्षेप दर घटाएको थियो । ब्याजदर महँगो भएको कारण बैंकबाट कर्जा लगानी विस्तार हुन नसकेको भन्दै निजी क्षेत्रलगायत सरकार नै ब्याजदर घटाउन लागि परेको कारण मौद्रिक नीतिको पहिलो समीक्षामार्फत राष्ट्र बैंकले नीतिगत दरहरु घटाएको थियो । तर, ब्याजदर सस्तो हुँदै जाँदा पनि बैंकहरुको कर्जा विस्तार लक्ष्यअनुसार हुन सकेको छैन । यसकारण बैंक तथा वित्तीय संस्थाहरु कर्जा विस्तारमा थप सहज नीतिको पर्खाइमा छन ।

प्रतिक्रिया दिनुहोस्
MBL