Logo

बौद्धिक पलायनको भयाबह स्थिति रोक्नुपर्छ, नवप्रवर्तनमा आधारित प्रतिस्पर्धी शिक्षामा जोड दिनुपर्छ : प्रधानमन्त्री

बौद्धिक पलायनको भयाबह स्थिति रोक्नुपर्छ, नवप्रवर्तनमा आधारित प्रतिस्पर्धी शिक्षामा जोड दिनुपर्छ : प्रधानमन्त्री



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बौद्धिक पलायनको भयावह परिस्थिति रोक्नुपर्ने बताएका छन् । राजर्षिजनक विश्वविद्यालयको सातौं सभालाई बिहिबार सम्बोधन गर्दै प्रधानमन्त्रीले विद्यार्थीको बौद्धिक पोषणका निम्ति तपाईंहरूको साधना, क्षमताको पूर्ण परिचालन एवं रचनात्मक तत्परताबाट पलायन रोक्न सकिने बताएका हुन् ।

laxmi

राजर्षिजनक विश्वविद्यालयबाट बाहिर निस्कने प्रत्येक स्नातकमा शिक्षाको वर्तमान तस्वीर र भविष्य अन्तर्निहित हुने उल्लेख गर्दै प्रधानमन्त्रीले शिक्षा पद्धतिलाई युगानुकूल परिस्करण गर्दै लैजानुपर्नेमा जोड दिए । राष्ट्रको नेतृत्व गर्न योग्य जनशक्तिको उत्पादन आजको प्रमुख कार्यभार भएको उल्लेख गर्दै उनले शिक्षामा गुणात्मक सुधार ल्याउनुपर्ने उनको भनाई छ ।

प्रधानमन्त्री प्रचण्डले विश्वव्यापीकरणको सबैभन्दा ठूलो प्रभाव शिक्षा क्षेत्रमा परिरहेको वर्तमान परिप्रेक्ष्यमा विश्वविद्यालयहरूको नीति, पाठ्यक्रम, शिक्षा विधि, कार्यशैलीमा गुणात्मक सुधार गर्नुपर्ने अवस्था आएको उनको भनाई छ । उनले भने, ‘नवप्रवर्तनमा आधारित प्रतिस्पर्धी शिक्षामा जोड दिनुपर्छ मेरो अपेक्षा त्यही छ ।’

विश्वविद्यालय स्थापनाको छोटो अवधिमा प्राविधिक विषयका चिकित्सा शिक्षा, व्यवस्थापन र कम्प्युटर प्रविधि विषयहरूमा स्नातक र स्नातकोत्तर तहको शैक्षिक कार्यक्रम सञ्चालन गरेकोमा आभार प्रकट गर्दै अपेक्षित सफलताका निम्ति क्रियाशील हुन प्रधानमन्त्रीले सुझाव समेत दिएका छन् । विश्वविद्यालयको जग्गा र भवन पूर्वाधारको अभावमा झेल्नुपरेका कठिनाइहरू अर्थतन्त्रमा आउने सुधारसँगै क्रमशः सम्बोधन गरिने विश्वास पनि दिलाउँदै प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयका अन्य प्राज्ञिक कार्यक्रमहरू व्यवस्थित तुल्याउन सरकारको तर्फबाट गर्नुपर्ने नीतिगत र व्यवस्थापकीय सहयोगमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

‘मधेस प्रदेश ज्ञान बिज्ञानको केन्द्र’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्पूर्ण मधेश प्रदेशलाई ज्ञान–विज्ञानको केन्द्र भएको बताएका छन् । राजर्षिजनक विश्वविद्यालयको सातौँ सभालाई आज संबोधन गर्दै प्रधानमन्त्रीले राजा जनकले ज्ञानी ऋषिमुनीहरूसँग शास्त्रार्थ गरेर ज्ञानको सर्वोच्चता सिद्ध गरेकोसमेत उल्लेख गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘सङ्घीय संरचनाअन्तर्गत मधेश प्रदेशमा रहेको सम्पूर्ण मधेश प्रदेशलाई पुनः ज्ञान विज्ञानको केन्द्रको रूपमा विकास गर्ने सरकारको नीति छ ।’ ज्ञानको दीप प्रज्वलित गर्ने उद्देश्यले राजर्षिजनकको नाममा विश्वविद्यालय खोलिनु प्राचीन सभ्यता, संस्कृति र सांस्कृतिक धरोहरप्रतिको अगाध आस्था भएको प्रधानमन्त्रीले उल्लेख गरेका छन् ।

विश्वविद्यालयको आवश्यकता र औचित्यबोध गर्दै नीतिगत र प्राज्ञिक मार्गदर्शन गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले भने, ‘वर्तमान नेतृत्वले विश्वविद्यालयको गरिमा र प्राज्ञिक छवि निर्माणका निम्ति अनवरत पहल लिएको छ । यहाँहरूको अथक प्रयास, अटल प्रतिवद्धता, प्राज्ञिक कर्मका निम्ति आभार व्यक्त गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्
MBL